१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 10 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर ८ शुक्रबार १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १६:२७:oo

किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड भएको छ। भीमदत्त नगरपालिका- १८ महेन्द्रनगर स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरिएको हो। 

शुक्रबार महेन्द्रनगरमा दिउँसो राप्रपा कञ्चनपुरले गणतन्त्रविरुद्धमा विरोध प्रदर्शन कार्यक्रममा सहभागी आन्दोलनकारीले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका हुन्। 

उनीहरूले गणतान्त्रिक व्यवस्थामा राजावादी, राजपरिवारको इतिहास मेटाएको भन्दै सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए। पार्कभित्र ०७३ सालमा स्थापना गरिएको सालिक तोडफोड गरेर पूर्वराजा महेन्द्रको सालिक राख्ने भन्दै तोड्न थालेपछि प्रहरीले रोकेका थिए। 

आन्दोलनकारी राप्रपाका नेता–कार्यकर्ताहरूले सालिकमा आंशिक क्षति पुर्‍याएका छन्। किसान जननेता भीमदत्त पन्त १० मंसिर १९२६ मा जन्मिएका थिए। 

किसानकै छोरा किसान नेताको जन्मदिनको दुई दिनअघि राप्रपासहितका राजावादी समूहले सालिक तोडफोड गरेको विरोधमा विभिन्न राजनीतिक दलले भर्त्सना  गरेका छन्। उनीहरूले सालिक तोडफोड गर्ने अराजक समूहमाथि कारबाहीकाे माग गरेका छन्। 

राप्रपा कञ्चनपुरका नेता करन पालले किसान नेता भीमदत्त पन्तको सालिक तोड्ने योजना नभएको बताए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण नै थियो,’ उनले भने, ‘एकाएक उत्तेजित भिडले तोड्यो। यो दु:खकाे कुरा हो। यसबारेमा हामी थप समीक्षा गर्छौँ।’

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले सालिक तोडफोडमा संलग्न राप्रपा कार्यकर्ता नरेश कार्कीसहितका तीनजनालाई पक्राउ गरिएको बताए। एसपी थापाले शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गर्न नपाइने भन्दै थप संलग्नको खोजी भइरहेको जानकारी दिए।

राप्रपा नेता–कार्यकर्ताले पक्राउ परेकालाई निःसर्त रिहाइको माग गरेका छन्। उनीहरूले निःसर्त रिहाइ नगरे शनिबारदेखि आन्दोलन गर्ने चेतावनी दिए।