
कर्णालीलाई ९० रनले हराउँदा बागमतीका कप्तान सन्दीप लामिछानेले नौ रन खर्चेर सर्वाधिक तीन विकेट लिए
बागमती प्रदेशले लगातार दुई जित निकाली पोखरामा सञ्चालन भइरहेको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । प्रतियोगिताको शुक्रबार दोस्रो दिन बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । बागमतीले उद्घाटन खेलमा आयोजकको रातोलाई एक सय नौ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
आफ्नो दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८९ रन जोडेको थियो । प्रत्युत्तरमा कर्णाली १७.३ ओभरमा अलआउट हँदै ९९ रनमा सीमित भयो । बागमतीको जितमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए । उनले ३.३ ओभरमा नौ रन खर्चेर सर्वाधिक चार विकेट हात पारे । दीपेश श्रेष्ठले ३ ओभरमा २७ रन दिँदै दुई विकेट लिए ।
ब्याटिङका क्रममा बागमतीका रित गौतमले सर्वाधिक ८२ रन म्यान अफ दी म्याच इशान पाण्डेले ७० रन जोडेका थिए । दुवैले दोस्रो विकेटका लागि एक सय ४३ रनको साझेदारी गर्दै टोलीलाई १७.४ ओभरमा १५९–२ को बलियो स्थितिमा राखे । रितले ५९ बलमा १० चौका र दुई छक्का प्रहार गरे । इशानले ३८ बलमा चार चौका र ६ छक्का प्रहार गरेका थिए । कर्णालीका लागि दीपेश अधिकारीले ३३ रन खर्चेर तीन विकेट हात पारे । कर्णालीको ब्याटिङमा कर्णालीका लागि अर्जुन घर्तीले २३ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए ।
गण्डकीसँग एपिएफको हार
दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई चार विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार गरेको थियो । सहज लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै एक सय चार रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । एपिएफका लागि कप्तान प्रदीप ऐरीले २३ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन जोडेका थिए । सुमित महर्जनले १७ बलमा १४ रन र भुवन कार्कीले २४ बलमा १४ रन बनाएका थिए । यसअघि ओपनर आशिफ शेखले ११ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाउँदै आउट भए ।
गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २५ रन जोड्नेक्रममा २३ बलमा चार चौका प्रहार गरेका थिए । ओपनर गौरव विकले ११ बलमा दुई चौकासहित ११ रन जोडेका थिए । टोलीका लागि दिनेश बुढामगरले ३३ बलमा दुई चौका र एक छक्कासहित २४ रन बनाउँदा अभिशेक थापाले १५ बलमा एक छक्कासँगै टोलीका लागि ११ रनको योगदान दिए । प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल आयोजक रातोले कर्णालीको सामना गर्नेछ । दोस्रो खेल लुम्बिनी र एपिएफबीच हुनेछ ।