१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १५:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कप : सन्दीपले नेतृत्व गरेकाे बागमती सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। बागमती लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो। खेलमा टस जितेर ब्याटिङ सुरु गरेको बागमतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा ६ विकेटको क्षतिमा एक सय ८९ को विशाल योगफल तयार गरेको थियो।

बागमतीका गौतमले १० चौका र दुई छक्का हिर्काउँदै सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र ६ छक्कासहित ७० रनको योगदान दिए। जवाफी ब्याटिङ थालेको कर्णाली प्रदेशले भने १७.३ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्रै जोड्न सक्यो।

बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो। बागमतीका दीपेश श्रेष्ठले दुई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीश जिसीले समान एक–एक विकेट लिए।

बागमतीले शुक्रबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई पराजित गरेको थियो। कर्णालीका दिनेश अधिकारीले तीन तथा दिवान पुन र अनुज चनाराले समान एक–एक विकेट लिए।

कर्णालीका अर्जुन घर्तीले सर्वाधिक २४, विपिन शाहीले २१, कप्तान रवीन्द्र शाहीले २० र दीपेन्द्र रावतले १२ रनको योगदान दिए। बागमतीको समूहमा आयोजक रातो र कर्णाली प्रदेश रहेका छन्। बागमतीले आफ्नो समूहका दुवै खेल जितेको हो।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु. पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी उपविजेता टोलीलाई रु. दुई लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियमानुसार सञ्चालन भएको प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ले रु. ३० हजार, ‘बेस्ट बलर’ले रु. २० हजार, र ‘म्यान अफ दी म्याच’ले रु. पाँच हजार पुरस्कार पाउनेछन्।