Skip This
‘गणतन्त्र कमजोर बनाउन गठबन्धन सरकार नै संलग्न’  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ६ बुधबार १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘गणतन्त्र कमजोर बनाउन गठबन्धन सरकार नै संलग्न’  

एमाले केन्द्रीय कमिटी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार १६:४३:oo

नेकपा एमालेले अहिलेको गठबन्धन सरकार नै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आशंका गरेको छ। 

बुधबार बसेको केन्द्रीय कमिटी बैठकले विशृंखल र अराजक गतिविधिलाई सरकारले नै बढावा दिइरहेको आरोप लगाउँदै गणतन्त्र कमजोर बनाउने काममा संलग्न रहेको आशंका गरेको हो। 

‘यतिवेला नेपाली समाजमा अराजकता बढ्दै गएको छ। नेपाली समाजलाई विभिन्न ढंगले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउने शृंखलाबद्ध प्रयासहरू भइरहेका छन्। जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका विरुद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरुद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदूषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेजस्ता अराजक गतिविधिहरू बढिरहेका छन्,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘यसबीचमा कतिपय ठाउँमा धार्मिक दंगाहरूसमेत गराइएका छन्। तर, यस्ता अराजक क्रियाकलापप्रति गम्भीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ। यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकार स्वयं संलग्न त छैन भन्ने गम्भीर आशंका पैदा भएको छ।’ 

सत्तागठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको भन्दै एमालेले लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गरेको छ। 

त्यस्तै, बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, आर्थिक मन्दी बढाउँदै लैजाने, सामाजिक वैमनश्यलाई बढावा दिने र राज्यका निकायहरूलाई कमजोर बनाउँदै जनतामा निराशा बढाउने वर्तमान गठबन्धन सरकारको रवैयाप्रति आपत्ति प्रकट गरेको छ।