
उच्च अदालतहरू : सुर्खेतमा लोहितचन्द्र शाह, पोखरामा माधवप्रसाद पोखरेल, विराटनगरमा रमेशप्रसाद भण्डारी, जनकपुरमा श्रीकान्त पौडेल, तुलसीपुरमा नित्यानन्द पाण्डे र दिपायलमा शान्तिसिंह थापा मुख्य न्यायाधीशमा सिफारिस भएका छन्।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त सातमध्ये ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । परिषद्ले उच्च अदालतहरूमा ६ मुख्य न्यायाधीशसमेत सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले सर्वोच्चका न्यायाधीशमा उच्च अदालतका चार न्यायाधीश तथा दुई कानुन व्यवसायीलाई सिफारिस गरेको हो । उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानालाई सिफारिस गरेको छ । वरिष्ठ अधिवक्ताद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल पनि न्यायाधीशका लागि सिफारिस भएका छन् ।
सुवेदी, मुसलमान, पौडेल र ढुंगाना चारैजना उच्च अदालतका न्यायाधीश हुन् । सुवेदी उच्च अदालत विराटनगरकी कामु मुख्य न्यायाधीश हुन् । त्यस्तै, विशेष अदालतको सदस्य मुसलमान ०७३ मा उच्च अदालतमा ८० न्यायाधीशको नाम सिफारिस हुँदा सूचीमा थिए । पौडेल उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश हुन् भने ढुंगाना पाटन उच्च अदालतकै न्यायाधीश हुन् । अधिवक्ता पोखरेल नेपाल बार एसोसिएसनका पूर्वमहासचिव हुन् भने अधिवक्ता ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् ।
ढुंगानाको प्रधानन्यायाधीश हुने सम्भावना छ । ६ पुस ०२८ मा जन्मिएका ढुंगाना सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । रिक्त पदमा नियुक्तिका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि भागबन्डाका लागि लम्बिदै आएको थियो ।
त्यस्तै, उच्च अदालतहरू सुर्खेतमा लोहितचन्द्र शाह, पोखरामा माधवप्रसाद पोखरेल, विराटनगरमा रमेशप्रसाद भण्डारी, जनकपुरमा श्रीकान्त पौडेल, तुलसीपुरमा नित्यानन्द पाण्डे र दिपायलमा शान्तिसिंह थापा मुख्य न्यायाधीशमा सिफारिस भएका छन् । मुख्य न्यायाधीशका लागि सिफारिस भएका सबै उच्च अदालतमै कार्यरत थिए ।
प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै नियुक्ति हुनेछ ।
बिशेष अदालतको अध्यक्षमा कुँवर
बिशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरको सिफारिस भएको छ । मंगलबार बसेको न्याय परिषद् बैठकले बिशेष अदालतमा अध्यक्ष र सदस्यहरू सिफारिस गरेको हो ।
सदस्यहरूमा उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगरका रामबहादुर थापा, उच्च अदालत पाटनमा कार्यरत मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका रितेन्द्र थापालाई सिफारिस गरेको छ । न्याय परिषद्को बैठकले अन्य १३ न्यायधीशको सरुवा तथा चार जनाको काज पनि गरेको छ ।