
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७ मंसिरमा चीनबाट चार्टर उडान हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित ‘वार हाउस नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’मा भाग लिन खेलाडी, प्राविधिक र पाहुनाहरू विमान चार्टर गरेर चीनबाट सीधै पोखरा आउन लागेका हुन् । चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्समार्फत बिहीबार दिउँसो ३: १५ बजे एक सय चारजनाको टोली पोखरामा अवतरण गर्ने विमानस्थलकी प्रवक्ता यसोदा सुवेदीले जानकारी दिइन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा होटेल संघ पोखरा र चीनको युनान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्टस् एसोसिएसन सहआयोजनासँगै नेपाल भूतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरोको प्राविधिक सहयोगमा ९ मंसिरमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुन ७४ जना खेलाडी, १९ जना प्राविधिक र ११ जना भिआइपी पाहुना चीनबाट आउने नेपाल–चीनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
१७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुनमा इन्स्टु«मेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि योग्य भएको छ । विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको थियो ।
गत ६ असारमा चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सले चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडानमार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरको थियो । ८ र ९ असारमा पोखराको फेवातालमा सम्पन्न नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन विमान चार्टर्ड गरी खेलाडीसँगै ७२ जना चिनियाँ गरी ९६ जना पोखरा आएका थिए ।
त्यसपछि विमानस्थल सञ्चालनमा आएको आठ महिना सात दिन अर्थात् २३ भदौमा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा चार्टर उडानमार्फत पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो । पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना पोखरा आएका थिए । पोखरा आएको सो विमानले पोखराबाट ४२ यात्रु र चालकदलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडेको थियो ।
यसैगरी, २२ कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुई काग्रो विमानले चीनको छेन्दु विमानस्थलबाट पोखरा अवतरण गरेका थिए । जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पका कारण प्रभावितहरूको सहयोगका लागि चीनको तर्फबाट राहत सामग्री लिएर दुई विमान पोखरा आएका थिए ।