१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Friday, 09 May, 2025
रासस झापा
२o८o मङ्सिर ५ मंगलबार १२:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खेतमै कुहिन लाग्यो  सयपत्री फूल

Read Time : > 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १२:३९:oo

व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्थामा पुगेको छ ।

बिर्तामोड नगरपालिका– ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कट्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कट्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे।

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार जमाएपछि  स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ । ‘भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो,’ उनले भने, ‘जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको माला मात्र होइन थुँगा नै बजारभरि देखियो । हामीले कत्रो मिहिनेत गरेर फुलाएका फूल बिक्दै बिकेनन्।’

अहिले उनको फूलखेतीमा दुई हजार पाँच सय केजी (२५ क्विन्टल) सयपत्री ढकमक्क फुलेको छ। कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनको भनाइ छ । हालको बजारभाउअनुसार तिहारमा कम्तीमा रु. पाँच लाखको फूल बिक्री हुने आशा गरेकामा रु. ७० हजारको मात्र फूल बिकेको उनले बताए। उनले फूलखेतीमा रु. एक लाखभन्दा बढी लगानी गरेका छन्।

सुरुमा प्रतिकेजी रु. दुई सय ५० मा फूल बोटबाटै बिक्री भए तापनि तिहारको मुख्य दिनमा रु. ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाउँदा ज्यादै निराश बनेको उनको गुनासो छ । ‘ताजा फूललाई बोलेरो गाडीमा राखेर साउन्ड सिस्टमबाट प्रचार गर्दै गाउँसहर डुलाउँदासमेत बिकेन,’ उनले भने।

जिल्लामा तिहारको वेला रु. एक करोडको सयपत्री फूल र रु. १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ । खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सपयत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन् ।

स्थानीय व्यापारी भारतबाट आएको सयपत्री फूलको माला रु. २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन् । भन्सार अधिकारीहरूका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरे तापनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन ।

खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकहरूले खरिद गरेर लैजान्छन् भनेर सुने तापनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारीले बताए। चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना छैन ।

सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ । तर, बिर्तामोडका शीतभण्डारले अरू उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताए। ‘शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ,’ उनले भने।