
बच्चाहरूलाई पढाईमा प्रोत्साहन गर्नका लागि अभिभावकले आफैं पढेर सुनाउने, उनीहरू सँग–सँगै पढ्ने, रोचक कथाहरू सुनाउनेलगायत गर्न सकिन्छ ।
सानैदेखि रमाइलो मानेर नियमित अध्ययन गर्नेहरूको स्मरण शक्ति तथा मानसिक स्वास्थ्य किशोरावस्थामा निकै राम्रो रहने गरेको नयाँ अध्ययनले देखाएको छ । पढ्ने बानी नभएका वा ढिलो उमेरमा पढ्न थालेकाहरूको दाँजोमा उनीहरूलाई राम्रो निद्रा पर्ने गरेको पनि अध्ययनले जनाएको छ । त्यस्तै, उनीहरूले विद्युतीय उपकरणको प्रयोग पनि कम गर्ने गरेको पाइयो ।
१० हजार दुई सय ४३ जना अमेरिकी किशोर–किशोरीमाझ अध्ययन गरिएको यो प्रतिवेदन साइकोलोजिकल मेडिसिन जर्नलमा प्रकाशित छ । अध्ययनअनुसार सातामा झन्डै १२ घन्टा आनन्द मानेर अध्ययन गर्ने किशोर–किशोरीको स्मरण शक्ति तथा मानसिक स्वास्थ्य (यति समय अध्ययन नगर्नेको दाँजोमा) सुदृढ रहेको पाइयो । यसक्रममा सहभागीकोे परीक्षाको नतिजा, क्लिनिकल एसिसमेन्ट, ब्रेन स्क्यानलगायत संकलन गरिएको थियो । त्यस्तै, उनीहरूका अभिभावक, केयर गिभर र शिक्षकहरूबाट पनि सूचना संकलन गरिएको थियो ।
अनुसन्धानकर्ताहरूका अनुसार जसले नौ वर्षभन्दा कम उमेरमै आनन्द लिएर नियमित अध्ययन गर्ने बानी बसालेका थिए, उनीहरूको स्मरण शक्ति किशोरावस्थामा आइपुग्दा निकै राम्रो रहेको पाइयो । त्यस्तै, उनीहरूमा मानसिक समस्या पनि कम देखियो । उनीहरूको बोल्ने कला, स्कुलमा हासिल गरेका उपलब्धि राम्रो थियो । उनीहरूमा तनावको लक्षण कम थियो र उनीहरूको व्यावहारिक समस्या पनि कम देखिन्थ्यो ।
अध्ययनले नियमित पढ्नका लागि बच्चाहरूलाई प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ । बच्चाहरूलाई पढाईमा प्रोत्साहन गर्नका लागि अभिभावकले आफैं पढेर सुनाउने, उनीहरू सँग–सँगै पढ्ने, रोचक कथाहरू सुनाउनेलगायत गर्न सकिने (अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स) मा उल्लेख छ । बच्चाहरूलाई सानैदेखि स्थानीय लाइब्रेरी घुमाउन पनि सकिन्छ, जसकारण उनीहरूले आफुलाई मनपर्ने पुस्तकको पहिचान गर्न सकुन् ।