Skip This
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
टेकराज थामी काठमाडाैं
२o८o मङ्सिर ५ मंगलबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार o६:१६:oo

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको मंगलबारदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । पटक–पटक पेसीमा चढेर पनि उच्च अदालतमा यो मुद्दामा सुनुवाइ हुन सकेको छैन । मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तहरूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध १६ जना उच्च अदालत गएका थिए । त्यस्तै, धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ । 

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । 

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो । 

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएकोे छ । 

प्रकरणको दोस्रो चरणको अनुसन्धान टुंग्याउने तयारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरु भएको प्रहरीको दोस्रो चरणको अनुसन्धान लगभग टुंगिने चरणमा पुगेको छ । प्रतिवादीको इन्कारी बयान र घटना पुष्टि हुने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया टुंग्याउन लागेको हो । 

प्रहरीले गत भदौदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थालेको थियो । ठगिएको भन्दै १८ पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो । यसै क्रममा प्रहरीले घटनामा संलग्न आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई र रामशरण केसीविरुद्ध बयान लिइसकेको छ । उनीहरूले इन्कारी बयान दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा केही अभियुक्तसँग बयान भएको र उनीहरूले इन्कारी बयान दिएको बताए । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ पीडितको जाहेरी परेको थियो । उनीहरूले पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, सागर राई, रामशरण केसीविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरूको ततिम्बा बयान सकिएको छ,’ उनले भने, ‘उनीहरूले जाहेरी दिने कसैलाई पनि नचिन्ने बताएका छन् । र, घटनामा संलग्न नभएको बयान दिएका छन् । अन्य प्रमाण खोज्ने काम पनि भयो । केही काम अझै हुँदै छन् ।’

प्रहरीका अनुसार किटानी जाहेरीमा ८५ लाख ९२ हजार रुपैयाँ ठगिएको उल्लेख छ । जसमध्ये १२ लाख रुपैयाँ शेर्पाले ठगेको भनिएको छ । बाँकी ४८ लाख रुपैयाँ भने अन्य भण्डारी, दुलाल, राई र केसीले ठगेको भनिएको छ । तर, बयानमा उनीहरूले जाहेरीकर्तामध्ये कसैलाई पनि नचिनेको बताएका छन् । र, उनीहरूले कसैलाई पनि पोलेका छैनन् । यद्यपि, प्रहरीले उनीहरूको मोबाइल फोनको प्राविधिक अनुसन्धान भने गरिरहेको छ । पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका उनीहरूलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बयान गराएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयले प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयलाई गत १४ जेठमै निर्देशन दिएको थियो । यसबीचमा घटनासँग जोडिएका १६ अभियुक्त पुर्पक्षका लागि कारागारमा गइसकेका छन् । तर, प्रहरीले यसबीचमा थप अभियुक्तलाई पक्राउ गर्न सकेको छैन ।