१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o८:५o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीरमा साढे दुई महिनादेखि  थन्कियो ४० करोडको ‘टोमोथेरापी’

प्राविधिक जनशक्ति अभाव र इमोलाइजर उपकरण खरिद नगर्दा सञ्चालनमा आउन नसकेको अस्पतालको भनाइ

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

क्यान्सरको उपचार गर्ने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ साढे दुई महिनादेखि वीर अस्पतालमा अलपत्र छ । तत्काल सञ्चालन गर्ने भनेर हतारमा खरिद गरिएको विकिरणमार्फत बिरामीको उपचार गर्ने मेसिन प्राविधिक जनशक्ति अभाव र इमोलाइजर उपकरण खरिद नगर्दा हालसम्म पनि सञ्चालनमा नआएको हो ।

१८ भदौमा सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्सले अकुरे कम्पनीको नयाँ ‘टोमोथेरापी’ अस्पताललाई हस्तान्तरण गरेको थियो । तर, प्राविधिक जनशक्ति अभावको समस्या देखाउँदै अस्पताल प्रशासनले हालसम्म पनि सञ्चालन गर्न सकिरहेको छैन । क्यान्सरको ट्युमरमा मात्र विकिरण फाल्ने टोमोथेरापी सञ्चालन गर्न रेडियोथेरापी टेक्निसियन चाहिन्छ । तर, नेपालमा यो विषयमा पढाइ नै हुँदैन भने विदेशमा पढेर आएका जनशक्ति पनि छैनन् । अस्पताल प्रशासनले भारतबाट जनशक्ति ल्याएर मेसिन सञ्चालन गर्ने तयारी गरेको छ ।

यस्तो प्रकारको मेसिन नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसबाहेक प्रशासनले यहीँ भएका केही रेडियोग्राफरलाई तालिम दिएर चलाउने तयारी पनि गरिरहेको छ । तर, त्यसरी सञ्चालन गर्दा प्राविधिक समस्या हुने भएकाले भारतबाट जनशक्ति ल्याउन तयारी भइरहेको प्रशासनले जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्रमुख प्रा.डा. भूपेन्द्र बस्नेतले यो मेसिन चलाउन चारजना रेडियोग्राफर, दुईजना मेडिकल फिजिसिस्टर, रेडियसन अंकोलोजिस्ट र पाँचजना अन्य चिकित्सक चाहिने बताउँदै जनशक्ति जोहो गर्ने कार्य भइरहेको जानकारी दिए । ‘यो मेसिन फुलफेजमा चलाउन जनशक्ति धेरै चाहिन्छ,’ उनले भने, ‘हामीसँग रेडियोथेरापी टेक्निसियन छैनन्, विदेशी प्राविधिकमार्फत तालिम दिलाएर रेडियोग्राफरबाटै काम चलाउँछौँ ।’ 

शरीरका भित्री कोष तथा नलीहरूमा हुने सूक्ष्म क्यान्सरको समेत उपचारमा यो मेसिन निकै प्रभावकारी मानिन्छ । यो रेडियोथेरापीभन्दा फरक छ । यो उपकरणबाट निस्किने विकिरण (रेडिएसन)ले क्यान्सर लागेको ठाउँका सेलहरू मात्रै मार्छ । यसले कपालको रौँबराबरको कोषहरूलाई छुट्याएर क्यान्सर लागेको र नलागेको वर्गीकरण गर्न सक्छ भने यसको प्रयोग गर्दा क्यान्सरले नछोएका सेलहरू मर्ने सम्भावना नहुने चिकित्सकहरूको भनाइ छ । तर, रेडियोथेरापीमा क्यान्सर लागेको ठाउँमा विकिरण पठाउँदा अन्य ठाउँका सेल पनि मार्ने धेरै सम्भावना हुन्छ । रेडियोथेरापीमा कतिपय अवस्थामा क्यान्सर निको भएको ठानिए पनि फेरि ब्युँतिने डर हुने गरेको छ । 

नेपालमै पहिलोपटक खरिद गरिएको टोमोथेरापी मेसिनको कथा लामो छ । सुरुमा ०७५ मै यो मेसिन ल्याइए पनि जडान हुन सकेन । त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राखियो । त्यहाँ राख्दा मेसिनमा खिया लाग्यो । अस्पतालले सप्लायर्स कम्पनीसँग मेसिन अस्वीकार गर्ने निर्णय गरेपछि १८ भदौमा नयाँ मेसिन ल्याइदिएको हो । 

हाल वीर अस्पतालमा २५ वर्ष पहिले ल्याइएको कोबाल्ट मेसिन बिग्रिएको छ । यो मेसिन ०७२ मा बिग्रिएपछि वीरमा रेडियोथेरापी सेवा पूर्णरूपमा बन्द छ । कोबाल्ट बिग्रिएको तीन वर्षपछि ०७५ भदौमै ४० करोडको ‘टोमोथेरापी’ काठमाडौं ल्याए पनि कोबाल्ट हटाउन नसक्दा उक्त मेसिन बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्क्याइएको थियो । वीरमा हाल रेडिएसन अंकोलोजिस्ट चारजना र मेडिकल फिजिस्टर दुईजना छन् । वीरका निर्देशक डा. सन्तोष पौडेलले पार्टपुर्जा फिटिङको कार्य भइरहेको बताए । त्यसपछि भारत तथा सप्लायर्स कम्पनीबाट जनशक्ति ल्याएर विकिरणबारे मापदण्ड हेरिने भएको छ । 

 सञ्चालन गर्न अझै तीन–चार महिना लाग्न सक्ने 
अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले अझै तीन–चार महिना मेसिन सञ्चालनमा नआउने बताए । ‘यो मेसिन थन्क्याएर राख्नुहुन्न । तर, मेसिन सञ्चालनका लागि ५० लाख पर्ने उपकरण चाहिने रहेछ । उक्त उपकरण खरिदको टेन्डर नै गर्न बाँकी छ, त्यसैले अझै तीन–चार महिना मेसिन सञ्चालनमा आउँदैन,’ उनले भने, ‘यो मेसिन सञ्चालमा ल्याउँदा क्यान्सरका सयौँ बिरामीलाई राहत मिल्छ । यो मेसिनको लाभ वीरका क्यान्सरका बिरामीले मात्रै नभएर अन्य अस्पतालमा उपचार गराइरहेका बिरामीले पनि लिन सक्छन् ।’ 

टोमोथेरापी सञ्चालनका लागि नभई नहुने इमोलाइजर उपकरण हालसम्म पनि खरिद भएको छैन । उक्त उपकरण खरिदविना टोमोथेरापी मेसिन सञ्चालन गर्न सम्भव नै हुन्न । इमोलाइजरले टोमोथेरापी गर्ने विरामीको क्यान्सरग्रस्त क्षेत्रको मार्किङ गर्ने काम गर्छ । अर्थात् यसले लक्षित क्षेत्रमा विकिरण पठाउन मद्दत गर्छ । यसले थेरापीको प्रभावकारिता बढाउन र नजिकका अंग वा तन्तुलाई क्षति पु¥याउने जोखिम कम गर्न सक्छ । इमोलाइजर मेसिनको मूल्य ५० लाख रुपैयाँ पर्छ । त्यसकारण मेसिन सञ्चालन गर्न समय लाग्ने अस्पतालका मेडिकल स्टोर प्रमुख पनेरुको भनाइ छ ।