१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Friday, 09 May, 2025
तस्बिर : इएसपिएन क्रिकइन्फो
रासस ढाका
२o८o मङ्सिर ३ आइतबार १२:५६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशका क्रिकेट कप्तान शकिब राजनीतिमा प्रवेश

Read Time : > 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १२:५६:oo

बंगलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। आगामी जनवरी ७ मा हुने आमनिर्वाचनका लागि उनले सत्तारूढ बंगलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामांकन माग गरेका छन्। 

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामांकन फाराम लिएका छन्। प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन्। 

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, ‘उहाँ सेलेब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।’ शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ ।

नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने इच्छा व्यक्त गरेका छन्। पछिल्लो १५ वर्षदेखि १७ करोड जनसंख्या भएको बंगलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरे भने उनी चौथोपटक सत्तामा फर्कने करिब निश्चित छ। 

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छिन्, तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य–मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै पछिल्ला दुई निर्वाचनमा उनीमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन्।

क्रिकेट खेल अत्यन्त लोकप्रिय भएको दक्षिण एसियामा क्रिकेटरहरूका लागि राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन । यद्यपि, खेल करिअरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो । पूर्वक्रिकेट कप्तान मसरफ मुर्तजा सन् २०१८ मा राजनीतिमा प्रवेश गरी सोही वर्ष सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए। राजनीतिमा ध्यान केन्द्रित गर्न खेल छाड्नुअघि उनले सन् २०१९ विश्वकपमा बंगलादेशको नेतृत्व गरेका थिए।

तीनवटै ढाँचामा बंगलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन्। सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आगामी टेस्ट शृंखला छोड्न बाध्य बनाएको छ । उनलाई विश्वकपमा श्रीलंकाविरुद्धको प्रतियोगिताका क्रममा चोट लागेको थियो । 

सोही प्रतियोगितामा उनले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए। उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलोपटक टाइम आउट भएका थिए।