Skip This
गुल्मीको मुसिकोटले जापानको बुंगोओनो नगरसँग भगिनी सम्बन्ध गाँस्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २ शनिबार ११:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको मुसिकोटले जापानको बुंगोओनो नगरसँग भगिनी सम्बन्ध गाँस्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार ११:o५:oo

गुल्मीको मुसिकोट नगरपालिका र जापानको आइता प्रान्तस्थित बुंगोओनो नगरपालिकाबीच भगिनी सम्बन्ध अगाडि बढेको छ। जसका लागि शुक्रबार मुसिकोट नगर र आइता प्रान्त बुंगोओनो नगरपालिकाका जनप्रतिनिधिबीच सद्भावनापूर्ण भेटघाट र समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

भगिनी सम्बन्ध विस्तारको लागि जापानको बुंगोओनो सिटीका मेयर फुमितोसी खबानोको नेतृत्वमा पाँचसदस्यीय टोली मुसिकोट आएको थियो। दुई देशका नगरबीचको सम्बन्ध विस्तारले कृषि क्षेत्रको विकासमा सहयोग आदान–प्रदान गर्ने मुख्य सहमति भएको छ। सहमतिपत्रमा जापानको बुंगोओनो सिटीका मेयर फुमितोसी खबानो र मुसिकोट नगरका मेयर जीवन खरेलले हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रमा हस्ताक्षर गर्दै फुमितोसी खबानोले मुसिकोटमा कृषि क्षेत्रको विकास आवश्यक भएकाले आफूहरू लगानीको लागि इच्छुक रहेको बताए। उनले जापानमा काम भए पनि काम गर्ने जनशक्ति नभएको र नेपालमा जनशक्ति भए पनि कृषि क्षेत्रमा काम नभएको बताउँदै दुई नगरबीचको समन्वयबाट दुवै कुरा अगाडि बढाउनुपर्नेमा जोड दिए।

'सामाजिक, सांस्कृतिक, जैविक, भौगोलिक र प्राकृतिक विविधताले अत्यन्तै सुन्दर मुसिकोट नगरको विकासको लागि थुप्रै काम गर्न जरुरी छ,' मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले भने, 'मुसिकोटको समृद्धिका आधारहरू सामाजिक न्याय, कृषि, पर्यटन र उद्योगको विकासका लागि जनशक्तिको विकास, विदेशका सहर, मुसिकोट नगरबाट प्रवासमा रहेका सीपयुक्त जनशक्तिहरूको समन्वय र उच्चतम प्रविधिको प्रयोग आवश्यक छ। जसका लागि जापानबाट आएका जनप्रतिनिधिहरूसँगको भेटघाट एउटा माध्यम मात्र हाे।' उनले भ्रमण टोली नगरप्रति अत्यन्तै उत्साहित भएकाले यो सद्भाव र मित्रतापूर्ण भेटघाट अत्यन्तै फलदायी बन्ने विश्वास व्यक्त गरे।

तीन वर्षअघि तत्कालीन मेयर सोमनाथ सापकोटा नेतृत्वको टोलीले बुंगोओनो सिटीका मेयर फुमितोसी खबानोसँग जापानमा भेटघाट गरेर सम्बन्ध विस्तारको सुरुवात गरेका थिए। दुई देशका नगरको सम्बन्ध विस्तारमा जापानमा ठूला उद्यम गरिरहेका मुसिकोटकै रोशन केसी, सुरेश केसी र प्रोफेसर डा. ताराप्रसाद सापकोटाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। 

मुसिकोट नगरपालिका गुल्मीका १२ स्थानीय तहमध्येको एक हो। सबैभन्दा धेरै जनसंख्या र भू–भाग भएको मुसिकोट नगरपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ। 

बुंगोओनो सिटी पनि कृषि क्षेत्र भएकाले मेयर फुमितोसी खबानो नेतृत्वको टोलीले कृषिमा सहकार्यको इच्छा राखेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए। 

उनले आँपचौरको कफी, केही विद्यालय, धार्मिक स्थल, स्वास्थ्यका पूर्वाधारहरूको समेत टोलीले भम्रण गरेको बताए। कुँवरले नगरभित्र शिक्षा, स्वास्थ्य र कृषिका पूर्वाधार निर्माण तथा कृषिमा सीप विकास र प्रविधिको सहयोग आवश्यक रहेको बताए।