१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
बिहीबार मृत फेला परेका दुई गैँडा
Invalid date format o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तस्करले मारे चितवन निकुञ्जमा दुईवटा गैँडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१o:oo

तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा गैँडा मारेका छन् । १८ र ६ वर्षका पोथी गैँडालाई धरापमा पारेर मारिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार दुईवटा गैँडा निकुञ्जको कोर क्षेत्रअन्तर्गत सौराहा सेक्टरको कार्यक्षेत्रअन्तर्गत चपरचुली सुरक्षा पोस्टबाट करिब ३.५ किलोमिटर दक्षिण–पूर्व चुरे पहाडको फेदी क्षेत्रमा दुईवटा अलग–अलग खाल्डोको धरापमा गैँडा खागविहीन अवस्थामा बिहीबार मृत फेला परेका हुन् । 

तिवारीका अनुसार ६ वर्षको पोथी गैँडा तीन दिनअघि र १८ वर्षको गैँडा १० दिनअघि मारेको अनुमान गरिएको छ । एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो केही टाढा लगेर फालेको देखिन्छ । तिवारीका अनुसार दुवै गैँडाको खाग छैन । गैँडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै तस्करले गैँडा मार्ने गर्छन् ।

तस्करहरूले यस क्षेत्रमा दुई दशकअघि खाल्टो खनेर गैँडा मार्ने गर्थे । तर, पछिल्ला वर्षमा गोली हानेर, करेन्ट लगाएर तस्करले गैँडा मार्दै आएका थिए । 

निकुञ्जभित्र खाल्टो खनेर धरापमा पारी गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षा प्रशासनमाथि प्रश्न उठ्न थालेको छ । खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेकोे यस घटनाले देखाएको छ । 

गैँडा दुर्लभ वन्यजन्तु भएका कारण मारेमा वा अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा छ । 

नौ वर्षमा २३४ गैँडा मरे 
निकुञ्जको पूर्वी क्षेत्रमा नै गत १४ भदौमा गैँडाको हाडखोर फेला परेको थियो । गत वर्ष माघमा निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको मध्यबिन्दु नगरपालिका– २ नारायणी किनारमा तस्करले करेन्ट लगाएर दुईवटा गैँडा मारेका थिए । यसबाहेक एक गैँडा बुढो भएर मरेको निकुञ्जको तथ्यांक छ भने दुईवटा गैँडा एक–आपसमा जुधेर यसै वर्ष मरेका छन् । दुईवटा गैँडा अन्य वन्यजन्तुको आक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । चालू आर्थिक ०८०/८१ को चार महिनामा निकुञ्ज र आसपासको क्षेत्रमा आठवटा गैँडा मरेका छन् । 

तिवारीका अनुसार बुढो भएर भिरबाट लडेर ६९ वटा, दलदलमा फसेर वा बाढीले बगाएर १९ वटा मरेका छन् भने आपसमा जुधेर ५४ वटा गैँडा मरेका छन् । बाघ र गोहीको आक्रमणमा परेर १६ गैँडाले ज्यान गुमाएका छन् । यसरी एक सय ४३ गैँडा प्राकृतिक कारण मरेको देखिन्छ । बाँकी सात गैँडा चोरी सिकार, ११ वटा गैँडा बिरामी तथा रोगी भएर र तीनवटा गैँडा खाडलमा परी मरेको निकुञ्जको तथ्यांक छ । विद्युतीय करेन्टले सात र विष सेवनले पाँच गैँडा मर्दा २८ वटा गैँडा विगतका नौ वर्षमा के कारण मरे भन्ने निकुञ्जले पत्ता लगाउन सकेको छैन । 

कुन वर्ष कति गैँडा मरे ? 

आव ०७२/७३ देखि हालसम्म नौ वर्षको अवधिमा २३४ गैँडा मरेको निकुञ्जको तथ्यांक छ । आव ०७२/७३ मा १४ गैँडा मरेका छन् भने ०७३/७४ मा यो संख्या बढेर २५ पुगेको थियो । त्यस्तै, ०७४/७५ मा २६ गैँडा मर्दा ०७५/७६ मा ४३ गैँडाले ज्यान गुमाए । ०७६/७७ मा भने यो संख्या तुलनात्मक रूपमा घटेर २६ मा झरे पनि ०७७/७८ मा फेरि ३३ गैँडाले ज्यान गुमाए । ०७८/७९ मा ३७ गैँडा मरे भने ०७९/८० मा २२ गैँडा मरेको निकुञ्जले जनाएको छ । सन् ०२१ मा गणना गर्दा नेपालमा एकसिंगे दुर्लभ गैँडाको संख्या ७५२ थियो ।