१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चिनियाँ नेता उच्चस्तरीय भेटवार्तामा : भूकम्पपीडितलाई तिब्बत सरकारको पाँच करोड सहयोग घोषणा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५६:oo

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति शीघ्र कार्यान्वयनमा लगिने, ल्हासाबाट चाँडै नेपाल उडान

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि पाँच करोड नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटका क्रममा उनले पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ल्हासाबाट काठमाडौं र पोखरामा हवाई उडान पनि शीघ्र सुरु गर्ने जानकारी वाङले दिएका छन् ।

बुधबार १२ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वाङले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संघीय मामिलामन्त्री अनिता देवीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । तिब्बतका कार्यकारी प्रमुखसमेत रहेका वाङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका तिब्बतसँग सम्बन्धित सहमति/समझदारी शीघ्र कार्यान्वयनका लागि तिब्बत सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति, समझदारी र सम्झौताहरूलाई चाँडो कार्यान्वयन गर्ने विषयमा छलफल भयो,’ भेटवार्तापछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले भने । उनका अनुसार चिनियाँ नेता वाङले कतिपय सम्झौताको कार्यान्वयनका लागि आफूले सहजीकरण गर्ने पनि वचन दिएका छन् ।

‘राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति, सम्झौता र समझदारीहरू कार्यान्वयनका लागि हामी गम्भीर छौँ । चाँडो कार्यान्वयनका लागि सहजीकरण र पहलकदमी लिन हामी तयार छौँ । त्यही सन्दर्भमा हामी नेपाल आएका हौँ,’ सेक्रेटरी वाङले प्रधानमन्त्री प्रचण्डसहित सबै शीर्ष नेतालाई भने । प्रधानमन्त्री प्रचण्डले यो भ्रमणपछि विगतमा कोरोना महामारीका कारण रोकिएका दुई देशबीचका परियोजनाहरू सुचारु हुने विश्वास व्यक्त गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्ड र वाङबीच १० असोजमा ल्हासामा भएको भेटवार्ताको पनि स्मरण गरिएको थियो ।

वाङले जाजरकोट र रुकुमका लागि राहत र पुनर्स्थापनाका लागि तत्कालै पाँच करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । यसअघि चीनको केन्द्र सरकार र विभिन्न प्रान्तीय सरकारले सहयोग घोषणा गरिसकेका छन् भने राहत लिएर चिनियाँ जहाज र ट्रक नेपाल आइसकेका छन् ।

वाङले तिब्बतको ल्हासा विमानस्थल पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सम्पन्न भएपछि काठमाडौं उडान सुरु गर्ने तथा पोखरा र भैरहवामा पनि उडान गर्ने बताएका छन् । चीन सरकारले नेपालका सीमावर्ती १५ जिल्लामा जीविकोपार्जन (शिक्षा, स्वास्थ्य, पूर्वाधार) कार्यक्रमअन्तर्गत सन् २०२४ देखि आगामी पाँच वर्षका लागि दुई करोड चिनियाँ मुद्राबराबरको सहयोग गर्ने पनि वाङले बताए । नेपालको संघीय मामिला मन्त्रालय र चीन सरकारबीच यससम्बन्धी समझदारीमा बिहीबारै हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाका अनुसार १३ डिसेम्बर (मंसिर २७)मा मुस्ताङको कोरला नाका खुला गर्न लागेको चिनियाँ नेता वाङले जानकारी दिएका छन् । यो नाका पहिलोपटक खुल्न लागेको हो । चीन पक्षले यसका लागि पूर्वाधार निर्माण गरिसकेको छ ।  वाङले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका वेला भएका सहमतिअनुसार नेपाल र तिब्बतबीचका १४ वटा नाका (तीन अन्तर्राष्ट्रिय र बाँकी द्विपक्षीय तथा परम्परागत) क्रमैसँग खोल्न चीन तयार रहेको बताएका छन् ।  कोरोना महामारीका कारण अवरुद्ध भएको दुई देशबीचको सम्झौता कार्यान्वयन प्रक्रियाको अब बाटो खुलेको दुवै पक्षको बुझाइ छ । अब तत्कालै अरनिको राजमार्ग विस्तारको चौथो चरण र स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग विस्तारको कार्य सुरु हुने पनि चिनियाँ पक्षले जानकारी दिएको छ ।

पाँचदिने औपचारिक भ्रमणमा वाङ बुधबार काठमाडौं आएका थिए । उनले जाजरकोट र रुकुममा हालै आएको भूकम्पबाट जनधनको क्षतिप्रति सबै भेटहरूमा दुःख व्यक्त गर्दै क्षमताले भ्याएसम्म सघाउने आश्वासन दिएका छन् । नेता वाङ शुक्रबार पोखरा जाने कार्यक्रम छ । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ । पोखरामा रहँदा उनले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । उनी शनिबार काठमाडौं फर्किएपछि  उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । वाङ आइतबार भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गरेर सोही दिन श्रीलंकाको राजधानी कोलम्बो जाने कार्यक्रम छ ।

ad
ad