१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला राष्ट्रिय टोलीको नयाँ कप्तान इन्दु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:३५:oo

अलराउन्डर इन्दु बर्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीकी नयाँ कप्तान बनेकी छिन् । नेपाल क्रिकेट संघ (क्यान)ले रुविना क्षेत्रीलाई हटाउँदै बर्मालाई हङकङमा हुने टी–२० सिरिजका लागि कप्तानीको जिम्मेवारी दिएको हो । बर्मा कप्तानी भएसँगै रुविनाको ११ वर्षदेखि महिला टोलीको कप्तानी समाप्त भएको छ । २०१२ मा रुविनाले पहिलोपटक कप्तानी सम्हालेकी थिइन् । उनले नेरी थापालाई विस्थापित गरेकी थिइन् । रुविनाले २००९ मा सिंगापुरविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । 

रुविनाले नेपालका लागि ४६ अन्तर्राष्ट्रिय टी–२० खेलमा ५०२ रन बनाएकी छिन् । उनले ३३ विकेट लिएकी छिन् । राष्ट्रिय छनोट समिति र क्रिकेट म्यानेजरको प्रस्तावअनुरूपै हङकङमा हुने सिरिजका लागि रुविनाको स्थानमा इन्दुलाई जिम्मेवारी दिइएको क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले जनाएका छन् । ‘सबै क्षेत्रबाट प्रस्ताव आएपछि बोर्ड बैठकले नयाँ कप्तानीका रूपमा इन्दुलाई चयन गरिएको हो,’ खड्काले भने । 

२०१९ मा डेब्यु
नयाँ कप्तान इन्दुले २०१९ मा चीनविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेकी थिइन् । चार वर्ष अवधिमा उनी प्रभावशाली अलराउन्डरका रूपमा स्थापित भएकी छिन् । उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट ४४ अन्तर्राष्ट्रिय टी–२० खेलमा ३७ इनिङ्स खेलेकी छिन् । यसक्रममा उनले एकपटक अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४९३ रन बनाएकी छिन् । उनले टी–२० खेलमा २९ चौका प्रहार गरेकी छिन् । ब्याटिङसँगै बलिङमा समेत स्तरीय प्रदर्शन गर्न सक्ने इन्दुले २३ अन्तर्राष्ट्रिय विकेट हात पारेकी छिन् । उनले २३ इनिङ्समा ३.७४ को इकोनोमी रनरेटमा बलिङ गरेकी छिन् । यसै वर्ष मलेसियामा भएको सिरिजमा उनले बहराइनविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेकी थिइन् ।  

तेस्रो स्थानमा धेरै रन
इन्दुले पहिलोदेखि छैँटो स्थानसम्म ब्याटिङ गरेकी छिन् । उनले चारपटक ओपनिङ गर्दा समग्रमा २४ रन बनाइन् । तेस्रो स्थानमा रहँदै उनले सर्वाधिक रन बनाएकी छिन् । यस स्थानमा रही उनले २० अन्तर्राष्ट्रिय खेलमा २७० रन बनाइन् । यसैगरी चौथो स्थानमा रही ब्याटिङ गरी उनले १४८ रन जोडेकी छिन् । 

रावल उपकप्तान
हङकङमा अल स्टार्स टी–२० सिरिजका लागि बिन्दु रावलले उपकप्तानीको जिम्मेवारी पाएकी छिन् । अल स्टार्स सिरिजपछि नेपालले ३९ कात्तिकदेखि ३ मंसिरसम्म हङकङमै हुने टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । सो प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया रहेका छन् । 

नेपालले पहिलो खेल २९ कात्तिकमा तान्जानियाविरुद्ध खेल्नेछ । त्यसपछि ३० कात्तिकमा आयोजक हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको अन्तिम खेल नेपाल र जापानबीचको खेल २ मंसिरमा हुनेछ । प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । यसपटकको टोलीमा कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् । 

नेपाली टोली
इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन

ad
ad