Skip This
संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा छैन : उपमहासचिव पुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २३ बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा छैन : उपमहासचिव पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १५:४९:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको बताएका छन्।

इतिहास भइसकेको वंश परम्परामा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने उनको दाबी छ। निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै पुनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको प्रस्ट पारे।

‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए। तिनीहरू स्वाभाविक रूपले राजतन्त्रकै निरन्तरता चाहन्थे,’ अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार लगनखेलमा गरेको कार्यक्रममा उनले भने, ‘वंशाणुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरबारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरूले राजतन्त्र चाहिन्छ भन्नुलाई बिलकुल अस्वाभाविक मान्नुपर्दैन।’

पुनले राजतन्त्रमा जनताले राज्यबाट लाभ नपाएको स्पष्ट रहेको उल्लेख गर्दै आमजनता राजतन्त्रको पक्षमा नरहेको बताए। ‘सधैँ राजतन्त्रबाट लाभ लिएको वर्ग र समुदायले गणतन्त्र भत्काउन पाए फेरि गुमेको स्वर्ग फर्कन्थ्यो कि भन्ने ठान्नु अन्यथा होइन,’ उनले भने, ‘त्यो वर्ग र शक्ति आज असान्दर्भिक भइसकेको छ।’

३० वर्षे पञ्चायतभन्दा बहुदलका समयमा र बहुदलभन्दा गणतन्त्रको १६ वर्षमा विकासका सूचकांकहरूमा चार गुणाभन्दा बढी प्रगति भएको आँकडाले नै पुष्टि गरेको उल्लेख गर्दै उनले ‘केही पनि भएको छैन भन्ने’ भ्रम पश्चगामीहरूले फैलाउन खोजेको टिप्पणी गरे।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगमार्फत समाजमा नकारात्मकता फैलाउने प्रवृत्ति देखिएको उपमहासचिव पुनको बुझाइ छ। यद्यपि, जनताले छिटो विकासको आकांक्षाका लागि गरेका सकारात्मक आलोचनालाई सरकार र दलहरूले आत्मसात् गर्नुपर्नेमा भने पुनले जोड दिए।