१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सस्तिँदै कर्जाको ब्याजदर : औसत आधार दर १० प्रतिशत, नौवटा बैंकको आधार दर एकल अंकमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२२:oo

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर सस्तिन थालेको छ । बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्समा समेत वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ । निक्षेपमा उल्लेख्य वृद्धि हुँदै जाँदा कर्जासमेत सस्तिँदै गइरहेको तथ्यांकले देखाएको छ ।

निक्षेपको ब्याजदरमा आउने परिवर्तनले आधार दरलाई प्रभावित पार्छ । निक्षेपमा ब्याजदर बढेमा आधार दरसमेत बढ्ने गर्छ भने घटेमा आधार दरसमेत कम हुने गर्छ । बैंकहरूले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत १०.२६ प्रतिशत र संस्थागत निक्षेपमा औसत ८.१८ प्रतिशत ब्याजदर कायम गरेको थियो । कात्तिकमा भने व्यक्तिगत निक्षेपमा औसत ९.९६ प्रतिशत र संस्थागत निक्षेपमा औसत ७.८५ प्रतिशत ब्याजदर तोकेका छन् । महँगो ब्याजदरमा मुद्दती कायम रहेका निक्षेपहरूको समेत नवीकरण हुँदा अहिले आधार दर क्रमशः घट्दो क्रममा छ । 

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २० वटा वाणिज्य बैंकहरूमध्ये नौवटा बैंकहरूको आधार दर एकल अंकमा आइपुगेको छ । नेपाल बैंकर्स संघका अनुसार स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ, नबिल, एभरेष्ट, सानिमा, एनएमबि र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको आधार दर एकल अंकमा आइपुगेको हो । अहिले नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले विगतमा जस्तो ‘उच्च ब्याजदर‘ भन्ने अवस्था नरहने बताए छन् । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले समेत ब्याजदर स्थिर राखेकाले तत्काल ब्याजदर नबढ्ने संकेत मिलेको उनको भनाइ छ । 

सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.४२ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.७० प्रतिशत र नेपाल बैंकको ९.१९ प्रतिशत छ । त्यस्तै, सिद्धार्थ बैंकको आधार दर ९.५३ प्रतिशत, नबिल बैंकको ९.५८ प्रतिशत, एभरेष्ट बैंकको ९.७० प्रतिशत, सानिमा बैंकको ९.७५ प्रतिशत र नेपाल इनभेष्टमेन्टको ९.९९ प्रतिशत कायम भएको छ । सबैभन्दा बढी आधार दर घट्नेमा सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् । गत आर्थिक वर्षको असोजसम्मको तुलनामा चालू आवको सोही अवधिमा स्ट्यान्डर्ड चार्टर्डको आधार दर ०.८४ र सिद्धार्थ बैंकको आधार दर ०.९० प्रतिशत बिन्दुले घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दरमा समेत ०.८१ प्रतिशतले घटेको छ । 

 आधार दर उच्च रहेका वाणिज्य बैंकहरू
११ वाणिज्य बैंकहरूको आधार दर भने अझै १० प्रतिशतभन्दा माथि छ । सबैभन्दा बढी आधार दर हुनेमा लक्ष्मी, हिमालयन र कुमारी बैंक छन् । कुमारी बैंकको आधार दर १०.९१ प्रतिशत छ भने हिमालयन बैंकको १०.८६ प्रतिशत छ । त्यस्तै, लक्ष्मी सन्राइज बैंकको आधार दर १०.८० प्रतिशत कायम रहेको संघको तथ्यांक छ । माछापुच्छ्र्रे बैंकको आधार दर १०.०१ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.०७ प्रतिशत, प्रभुको १०.१४ प्रतिशत, नेपाल एसबिआईको १०.२५ प्रतिशत र कृषि विकास बैंकको आधार दर १०.३८ प्रतिशत छ । एनआइसी एसिया बैंकको आधार दर १०.५६ प्रतिशत छ भने सिटिजन्स इन्टरनेसनल बैंकको १०.६० प्रतिशत कायम भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको आधार दर १०.४६ प्रतिशत छ । 

ad
ad