१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तिहारको व्यापारमा छैन उत्साह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:१६:oo

तिहार आउन केही दिन मात्र बाँकी भए पनि सर्वाधिक खपत हुने भाइमसला, झिलिमिली बत्तीदेखि फूलमालाको व्यापारमा उत्साह देखिएको छैन । आर्थिक मन्दीको प्रभावले विगतका वर्षको तुलनामा व्यापार करिब ४० प्रतिशतले घटेको व्यवसायीहरू बताउँछन् ।

तिहारमा प्रयोग हुने भाइमसला, विद्युतीय झिलिमिली वत्तीलगायतका व्यवसायमा उत्साह नदेखिएको राष्ट्रिय व्यापार–व्यवयासी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । उनले भने, ‘यो समयमा तिहारलक्षित वस्तुको व्यापार साबिकभन्दा बढ्नुपर्ने हो, तर विगत वर्षहरूको तुलनामा करिब ४० प्रतिशतले घटेको छ ।’ उनका अनुसार मन्दीको कारण विगतमा जस्तो माग नभएको हुँदा थोक व्यापारीले तिहारलक्षित सामग्री नै कम आयात गरेका छन् ।

भाइमसलाको मूल्य यथावत्
गत वर्षको तुलनामा भाइमसलाहरूको मूल्य भने बढेको छैन । विगतका वर्षहरूमा तिहारको समयमा झन्डै दोब्बरले मूल्य बढ्न गए पनि यसपटक मूल्य स्थिर नै रहेको नेपाल खुद्रा व्यापार व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । उनले भने, ‘आर्थिक मन्दीले विगतको जस्तो व्यापार छैन, तर मूल्यमा परिवर्तन आएको छैन ।’ भाइमसलामा प्रयोग हुने ड्राइफुड अन्य समयमा पनि माग भइरहने भएकाले मूल्यमा खासै परिवर्तन नआएको उनको भनाइ छ । गत वर्ष काजु प्रतिकिलो १५ सय देखि १८ सयसम्ममा बिक्री भएको थियो, अहिले पनि मुल्यमा खासै परिवर्तन नभएको उनले बताए । त्यस्तै, आलमन्ड, किसमिस, छोकडाको मूल्य प्रतिकिलो १५ सयदेखि चार सय रुपैयाँसम्म रहेको छ । 

तिहारलाई लक्षित गरेर यस वर्ष ४० करोड रुपैयाँबराबरको झिलिमिली वस्तु आयात गरिएको नेपाल विद्युत् व्यवसायी संघले जनाएको छ । यो गत वर्षभन्दा तीन करोड मात्रै बढी हो । संघका अध्यक्ष रेशम देवकोटाले आर्थिक मन्दीका कारण व्यापार सुस्त रहेकाले आयात पनि नबढाएको बताए । उनले भने, ‘यस वर्ष बत्ती आयात केही बढाएको भए पनि मन्दीको असरले होला खासै उत्साह छैन ।’  यस वर्ष झिलिमिली बत्तीको मूल्यमा विगतको जस्तै धेरै नबढेको बताए । उनले भने, ‘गतवर्ष १० प्रतिशतले बढेकोमा यस वर्ष मन्दीको कारणले उपभोक्तामा उत्साह छैन, सामान बिक्री गर्नुपर्ने बाध्यताले लागत मूल्य बढे पनि बिक्री मूल्य बढाउन सक्ने अवस्था छैन ।’ संघका अनुसार यस वर्ष २० रुपैयाँदेखि १५ सयसम्मको बत्तीहरू रहेको छन् । 

४० लाख माला खपत हुने
तिहारमा प्रयोग हुने फूलमाला यसपटक आन्तरिक उत्पादनले धान्ने भएको छ । खपत हुनेमध्ये ८५ प्रतिशत फूलमाला आन्तरिक उत्पादनले धान्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘यसपटक आन्तरिक उत्पादन राम्रो छ, सातै प्रदेशमा समयमै तिहारलक्षित फूल उत्पादन भएको हुँदा आयात कम गर्ने भएका हौँ ।’ अघिल्लो वर्षको तिहारमा १८ लाख १५ हजार मखमली, सयपत्री र गोदावरी फूलका माला खपत भएको थियो । १४ लाख ५२ हजार सयपत्री माला मात्र खपत भएको थियो भने तीन लाख ६३ हजार माला आयात गरिएको थियो ।  
एसोसिएसनका अनुसार तिहारभरि सयपत्री, मखमली, गोदावरी गरी जम्मा करिब ४० लाख माला खपत हुने अनुमान छ । सयपत्री मालाको मूल्यमा अघिल्लो वर्षको तुलनामा भने खासै अन्तर नरहेको उनले बताए । उनका अनुसार सयपत्री मालाको औसत मूल्य प्रतिगोटा ५५ रुपैयाँ, मखमली फूलको मालाको मूल्य औसतमा प्रतिगोटा ३५ देखि ४० रुपैयाँ र गोदावरी मालाको तीन सय ५० देखि चार सय रुपैयाँसम्म पर्नेछ । अघिल्लो वर्षको तुलनामा दुई करोड रुपैयाँको भन्दा बढी कारोबार हुने अनुमान रहेको अध्यक्ष तामाङले जानकारी दिए । 

ad
ad