Skip This
दोलखाको सुन तस्करीमा पनि क्रिप्टोमार्फत भुक्तानी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o कार्तिक २३ बिहीबार o६:o८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दोलखाको सुन तस्करीमा पनि क्रिप्टोमार्फत भुक्तानी

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार o६:o८:oo

दोलखाको लामाबगर क्षेत्रबाट भएको सुन तस्करीको अन्तर्राष्ट्रिय भुक्तानी पनि क्रिप्टो कारोबारबाट भएको पत्ता लागेको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको भुक्तानी पनि क्रिप्टोबाटै भएको थियो । 

चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको घटनामा हाल दोलखा प्रहरीले अनुसन्धान गरिरहेको छ । तस्करीको सुनको चीनमा करोडौँ भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो । 

एआइजी किरण बज्राचार्य, सिआइबी प्रमुख
यसअघि विमानस्थलबाट भित्रिएको ३६३ केजी सुन तस्करीको पनि क्रिप्टोमार्फत नै कारोबार भएको देखिएको थियो । दोलखाबाट सुन तस्करी गर्ने गिरोहले पनि त्यसैगरी भुक्तानी गरेको पाइएको छ । यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई प्रहरीले मंगलबार काठमाडौंमा पक्राउ गरेको छ । उनको मोबाइलमा क्रिप्टो करेन्टीको कारोबार देखिएको र विस्तृत अनुसन्धान भइरहेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । 

‘यसअघि विमानस्थलबाट भित्रिएको तीन सय ६३ केजी सुन तस्करीको पनि क्रिप्टोमार्फत नै कारोबार भएको देखिएको थियो,’ एआइजी बज्राचार्य भन्छिन्, ‘दोलखाबाट सुन तस्करी गर्ने गिरोहले पनि त्यसैगरी भुक्तानी गरेको पाइएको छ । यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।’ विमानस्थलबाट सवारीसाधनका पाटपुर्जामा लुकाएर भएको सुन तस्करीमा क्रिप्टो कारोबारको अपराधमा नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि अभियोग दायर भएको थियो । दोलखा प्रहरीले पनि क्रिप्टो कारोबार अपराधको पनि अनुसन्धान गरिरहेको छ । 

पक्राउ परेका अभियुक्तहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐनअुनसार क्रिप्टो कारोबारको अभियोगमा पनि मुद्दा चलाउनेबारे छलफल भइरहेको दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्का बताउँछन् । क्रिप्टो कारोबारमा संलग्न अन्य केही व्यक्तिहरू फरार छन् । पछिल्लो सुन तस्करीको घटनामा क्रिप्टो कारोबारको मात्रा धेरै रहेको छ । 

नेपालतर्फ सुन, चीनतर्फ यार्सागुम्बा तस्करी 
दोलाबाट सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको गिरोहले नेपालबाट भने चीनमा अवैध रूपमा यार्सागुम्बा लैजाने गरेको अनुसन्धानमा खुलेको छ । सुन तस्करीमै संलग्न व्यक्तिहरूलाई चिनियाँहरूले यार्सा ओसार्न पनि लगाएका थिए ।

प्रहरी अनुसन्धानमा यार्सागुम्बा तस्करीको पनि पुष्टि भएको छ । तर, यार्सागुम्बा बरामद हुन नसकेकाले वनसम्बन्धी मुद्दा दायर गर्ने कि नगर्ने भन्नेमा टुंगो लागेको छैन ।
डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाविरुद्ध प्रहरीले अवैध रूपमा सुनको चोरी–पैठारी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।

फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ भएको प्रहरीको भनाइ छ । त्यस्तै, दोलखाको बिगु गाउँपालिका– १ का ५५ वर्षीय नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङले पनि सघाएका थिए । 

तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि पक्राउ परिसकेका छन् । सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केशर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने पनि प्रहरी हिरासतमा छन् ।

उनीहरूले यसअघि पनि सो नाकाबाट सुन तस्करी गर्दै आएका थिए । आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने क्रममा बोरा नै चोरी भएपछि प्रहरीले तस्करीको सूचना पाएपछि सुन बरामद गरेको थियो । यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । 

अनलाइन जुवादेखि सुन तस्करीको कारोबार क्रिप्टोबाट 
सरकारसँग सफ्टवेयर किन्ने पैसा छैन 

आपराधिक गतिविधिको भुक्तानी क्रिप्टोमार्फत बढिरहे पनि अनुसन्धानको प्राविधिक पक्ष भने कमजोर छ । यससम्बन्धी अनुसन्धान गर्ने न त सफ्टवेयर प्रहरीसँग छ, न त दक्ष जनशक्ति नै ।

प्रहरीले यससम्बन्धी अनुसन्धानका लागि सफ्टवेयर खरिदका लागि गत वर्षदेखि नै बजेट माग्दै आएको छ । तर, सरकारले उपलब्ध गराएको छैन । क्रिप्टो कारोबार व्यापक हुँदै गएको भन्दै फेरि बजेट माग्दै प्रहरीले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ‘सफ्टवेयरविना यसको अनुसन्धान एकदम जटिल छ,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘त्यसरी जसरी पनि सफ्टवेयर खरिद गर्नुपर्‍यो भनेर फेरि बजेट मागेका छौँ ।’ सो सफ्टवेयरका लागि करिब नौ करोड रुपैयाँ पर्दछ । 

क्रिप्टो कारोबारले अवैध अर्थतन्त्रलाई बढाएको र कालो धनलाई प्रश्रय दिएको प्रहरी अधिकारी बताउँछन् । अनलाइन जुवा, हुन्डीजस्ता कारोबारको भुक्तानी क्रिप्टोमार्फत बढेको छ । सुन तस्करी तथा अन्य अपराधको कारोबार पनि अबका दिनमा क्रिप्टोमार्फत बढ्न सक्ने भन्दै प्रहरीले सफ्टवेयर खरिदका लागि सरकारसँग आग्रह गरेको हो । तर, सरकारले क्रिप्टोसमबन्धी अपराधको गम्भीरता नबुझ्दा यस्ता कारोबारको नियमन हुन सकेको छैन ।