१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तनहुँ जलविद्युतकाे प्रगति ४६ प्रतिशत

 मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२o:oo

एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ । 

जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले सोमबार बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरेका हुन् । 

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिनेछ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै सकिने तयारी छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोसेढुंगा भएको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत पुगेको छ । समग्र निर्माण असार ०८३ भित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले निहित स्वार्थका व्यक्तिहरूबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताए । भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका वेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए । 

तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहँु जलविद्युत्को प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिनुपर्ने बताए । उनले स्थानीय तह र प्रशासनको समन्वयकारी भूमिकाका कारण आयोजना हालको अवस्थामा पुगेको बताए । 

एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाका रूपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बतए । उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरू भएको बताउँदै दूधकोशी जलविद्युत्जस्ता ठूला आयोजनाहरूमा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे । तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न ध्यान केन्द्रित गरिएको बताए । 

ad
ad