
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनबाट चालू आर्थिक वर्ष ०८०/८१ को १८ कात्तिक (साढे तीन महिना)सम्म पाँच सय २५ फर्मलाई कारबाही गरेको छ ।यो अवधिमा कारबाही गरिएका फर्मबाट विभागले एक करोड ६४ लाख रुपैयाँ जरिवानाबापत राजस्वसमेत संकलन गरेको छ । विभागले १ असोजदेखि चाडपर्वमा हुन सक्ने कालो बजारीलाई रोक्ने तयारीका साथ अनुगमनलाई तीव्रता दिएका कारण कैफियत धेरै भेटिएको र जरिवानाको रकमसमेत बढेको जनाएको छ । यो अविधमा कुल १७ सय २६ वटा फर्म–पसलमा अनुगमन छ । तीमध्ये पाँच सय २५ पसललाई कैफियतको कसुरमा जरिवाना तिराएको विभागका प्रवक्ता आनन्दराज पोख्रेलले जानकारी दिए ।
विभागका अनुसार सबैभन्दा बढी खाद्यका एक सय ६७ पसलबाट ५६ लाख ७० हजार रुपैयाँ जरिवाना संकलन भएको छ । दसैँ र तिहारको विशेष अनुगमन र अन्य वेलाको नियमित अनुगमनबाट खाद्यान्नमा मिसावट, मूल्यसूची नराखेको र कालोबजारी गरेको कैफियतमा विभागले पाँच हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना तिराएको प्रवक्ता पोखरेलले बताए ।
उनले भने, ‘चाडपर्वको समय भएकाले सामूहिक अनुगमन र स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई तीव्रता दिएका छौँ र कारबाही पनि गरेका छौँ, यसले बजारलाई धेरै हदसम्म बजार नियन्त्रण गर्न सहयोग पुगेको छ ।’ विभागले अनुगमन गरेका कुल फर्ममध्ये चार सय ६७ वटालाई दर्ता तथा नवीकरणसम्बन्धी कागजात माग गरेको छ । त्यस्तै, एक करोड तीन लाख ७५ हजार मूल्यबराबरको खाद्यवस्तु जफत गरी नष्ट गरेको विभागले जनाएको छ ।
असोजमा एक करोडबराबरको वस्तु नष्ट
दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणका लागि विभाग नेतृत्वमा अहिले दैनिक करिब १० टोली अनुगमनमा खटिने गरेका छन् । वाणिज्य विभागको नेतृत्वमा गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राजस्व कार्यालय, काठमाडौं जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधि सम्मिलित छन् । यी टोलीले गरेको अनुगमनमा विभिन्न खाद्यान्न पसललगायतबाट करिब एक करोडभन्दा बढीको वस्तु नष्ट गरिएको छ ।
म्याद गुज्रिएको र अखाद्य वस्तु बरामद गरी विभागले नष्ट गरेको हो । विभागले असोजभरिमा विशेष गरी चाडपर्वमा खपत हुने खाद्यान्न पसल, मिठाई, तरकारी तथा फलफूल, रेडिमेड कपडा, माछामासु, होटेल रेस्टुरेन्ट अनुगमन बढाएको हो ।