१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

टिकटक बन्यो सुरक्षा चुनौती : घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही

गृह मन्त्रालयले टिकटकका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । उनीहरूले तत्कालै गलत सामग्री हटाउने तथा अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका छन् ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१५:oo

सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता दिन थालेको छ । 

गृह मन्त्रालयले शुक्रबार टिकटकका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । अमर्यादित पोस्टहरू तत्काल हटाउने र त्यसमा संलग्नलाई कानुनी कारबाही गरिने विषयमा सम्बन्धित पक्षहरूसँग छलफल भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्तिको चरित्र हत्या गर्ने, शान्तिसुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले यसमा कडाइ गर्न लागेका हौँ,’ उनले भने । 

गृहको छलफलमा प्रहरी अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए । बैठक प्रहरीको साइबर ब्युरो र टिकटक सिंगापुरबीच सहकार्य बढाउनेमा केन्द्रित थियो । टिकटकले पछिल्लो समय बढाएको समस्या तथा त्यसको अनुसन्धानमा भोगिरहेका समस्याबारे नेपाली अधिकारीले टिकटकका पदाधिकारीलाई जानकारी गराएका थिए । छलफलमा टिकटकका चार प्रतिनिधि सहभागी थिए । उनीहरूले तत्कालै गलत सामग्री हटाउने तथा अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट  व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको छ ।’ जसकारण घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रकृतिका सामग्री टिकटकलगायत सामाजिक सञ्जालमा नराख्न गृह मन्त्रालयले आग्रह गरेको छ । 

सामाजिक सञ्जालमा सर्वसाधारण अभ्यस्त हुँदै गए पनि नेपालमा यसलाई नियमन गर्ने कानुन बन्न सकेको छैन । जसकारण सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने, नियोजित रूपमा गलत सूचना फैलाउने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि बढेपछि गृह मन्त्रालयले सक्रियता बढाएको हो । नेपालमा ठूला सामाजिक सञ्जाल कम्पनीका शाखासमेत नभएकाले पनि यससम्बन्धी अपराधको अनुसन्धानमा समेत चुनौती रहेको प्रहरी अधिकारी बताउँछन् । 

उता, सामाजिक सद्भाव तथा शान्तिसुरक्षा बिगार्ने गतिविधिमा लागेको भन्दै व्यवसायी दुर्गा प्रसाईंमाथि प्रहरीले छानबिन थालेको छ । उनलाई साइबर ब्युरोले आइतबार बोलाएर सोधपुछ गरेको छ । उनले मारवाडी समुदायमाथि घृणा फैलाउने गतिविधि गरेको आरोपमा उजुरी परेको छ । त्यस्तै, नेपाली सेनाको विषयमा गलत सन्देश फैलाउने डिल्लीराम खनाललाई गत साता ब्युरोले पक्राउ गरेको थियो । अन्य केही व्यक्तिहरू पनि निगरानीमा रहेको ब्युरोका प्रहरी अधिकारी बताउँछन् ।

ad
ad