१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 09 May, 2025
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा घाइते भएका भेरी नगरपालिका– ४ का स्थानीयलाई उद्धार गरी अस्पताल लग्दै सशस्त्र प्रहरी । तस्बिर : रासस
प्रेम गौतम काठमाडाैं
अनिल यादव काठमाडाैं
२o८o कार्तिक १९ आइतबार o७:२५:oo
Read Time : > 6 मिनेट
समाचार प्रिन्ट संस्करण

भूकम्पपीडितको उद्धार र राहतमा जुटे दलहरू

Read Time : > 6 मिनेट
प्रेम गौतम, काठमाडाैं
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o७:२५:oo

कांग्रेसको नीति अधिवेशनको तयारीबाहेकका सबै कार्यक्रम स्थगित, एमालेको टोली प्रभावित क्षेत्रमा, माओवादीले बोलायो पदाधिकारी बैठक

राजनीति दलहरू आफ्ना पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगन गर्दै जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रका भूकम्पपीडितको उद्धार एवं राहतमा जुटेका छन् । पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेर कार्यकर्तालाई उद्धार एवं राहतमा लगाएका दलहरूले भूकम्पपीडितको सहयोगका लागि आर्थिक सहायता पनि उपलब्ध गराएका छन् ।

एमालेले एक करोड र कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको छ । तर, नीति अधिवेशनका लागि हुने महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने नरोकिने कांग्रेसले जनाएको छ । ‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको छ,’ मुख्यसचिव पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कांग्रेसले महासमिति बैठकबाट नीति अधिवेशनसमेत सम्पन्न गर्ने गरी १२ देखि १५ मंसिरमा बैठक तय गरेको छ । मुख्यसचिव पौेडेलले उद्धार, राहत र पुनस्र्थापनाका लागि ५० लाख सरकारी कोषलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले सरकारसँग युद्धस्तरमा उद्धार र राहत उपलब्ध गराउन आग्रह गरेका छन् । ‘भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरूको उपचार र राहतको कार्यमा सक्रियताका साथ परिचालन गर्न प्रधानमन्त्रीलगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ सभापति देउवाले भनेका छन् । उनले पार्टीपंक्तिलाई समेत परिचालित गराएर आवश्यक सहयोगका लागि अपिल गरेका छन् । उनले थप छलफल र पार्टीका तर्फबाट योजना बनाउन सभापति देउवाले आइतबार कार्यसम्पादन समितिको बैठक आह्वान गरेका छन् । 

नेविसंघले २१ र २२ कात्तिकका लागि तय गरेको पदस्थापना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । अध्यक्ष दुजाङ शेर्पाले प्रभावित क्षेत्रमा जुट्न मातहतका एकाइलाई निर्देशन दिएको बताए । नेविसंघले प्रत्येक केन्द्रीय सदस्यबाट एक हजारका दरले रकम उठाएर सात लाख ११ हजारको राहत कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । शेर्पाले सात सय ११ सदस्यीय कार्य समिति सदस्यबाट रकम संकलन गरेर तत्कालका लागि सहयोग रकम उपलब्ध गराउने आवश्यकताअनुसार अन्य सहयोगमा सक्रिय रहने बताए ।

उद्धार र राहतमा सरकारलाई एमालेको साथ
प्रमुख प्रतिपक्ष दल एमालेले भूकम्पपीडितहरूको उद्धार र राहत कार्यमा सरकारको साथमा रहेको जनाएको छ । अध्यक्ष केपी ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताए । उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न उनले आग्रह पनि गरे । ‘सरकारले यतिवेला काम गरेर देखाउनुप¥यो । मान्छे पुरिएका छन् कि जिउँदै छन् कि तिनलाई निकाल्न सकिन्छ कि, त्यस काममा सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ मधेश प्रदेश कमिटीको शपथग्रहण कार्यक्रममा शनिबार ओलीले भने । भूकम्पपछि एमालेले शुभकामना आदानप्रदान कार्यक्रम देशभर स्थगित गरे पनि मधेश प्रदेशको कार्यक्रममा भने ओली आफैँ सहभागी भएका थिए । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी कार्यक्रम स्थगित गरी भूकम्पपीडितको उद्धार कार्यमा सहयोग पु¥याउन आह्वान गरेका थिए । ‘प्राकृतिक विपत्को घडीमा पार्टीका आयोजना गरिएका शुभकामना आदानप्रदान तथा चियापानलगायतका कार्यक्रम स्थगित गर्न र भूकम्प प्रभावित जिल्लाका नेता–कार्यकर्ताहरूलाई भूकम्पपीडितको उद्धार कार्यमा सहयोग पु¥याउने काममा जुट्न हार्दिक आह्वान गर्दछु,’ गौतमले भनेका छन् । एमालेले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न अपिल पनि गरेको छ । भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एमालेले भूकम्पपीडितहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितहरूलाई राहत उपलब्ध गराउन तथा घाइतेहरूको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । यसैबीच, उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्र पुगेको छ । सुदूरपश्चिमबाट रिमालसहितको टोली नेपालगन्ज हुँदै जाजरकोट पुगेको एमालेले जनाएको छ ।

माओवादी पदाधिकारी बैठक बस्दै
सत्तारूढ दल माओवादीले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पदाधिकारी बैठक बोलाएका हुन् । माओवादीले शनिबार आयोेजित शुभकामना आदानप्रदान, चियापानलगायतका कार्यक्रम स्थगित गरेको थियो । ‘भूकम्पपछिको अवस्था, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल गर्न आइतबार पदाधिकारी बैठक बस्दै छ । पार्टीपंक्ति कसरी खटिने भन्नेबारे बैठकमा छलफल हुन्छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उनले भूकम्प प्रभावित जिल्लामा उद्धार र राहतमा पार्टीपंक्ति परिचालित भइसकेको बताए । माओवादीका जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार एवं राहतमा जुटेका छन् । 

एकीकृत समाजवादीले तत्काल उद्धार, उपचार, राहत र पुनस्र्थापनाको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । नागरिक र सरकारी संयन्त्रको सघन सहकार्य जरुरी रहेको एकीकृत समाजवादीले जनाएको छ । तीनै तहका सरकार र जनप्रतिनिधि, रेडक्रससहित राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरू, सुरक्षा संयन्त्र तथा सरकारका सबै निकाय र देश–विदेशमा रहेका सहयोगी बन्धु–बान्धव तथा व्यावसायिक संघ–संस्थालाई यथाशक्य सहयोग गर्न आह्वान गरेको छ । 

मानवीय संकटको घडीमा उद्धार, राहत र पार्टीको पहलकदमीको सम्पूर्ण संयोजन गर्न भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उपमहासचिव प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ । भूकम्पपीडितको सहयोगका लागि पार्टीले राहत कोष स्थापना गर्ने निर्णय गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहका सरकार मिलेर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प प्रभावित क्षेत्रको जोखिम न्यूनीकरणका लागि ध्यान दिन पनि नेपालले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरूलाई पार्टीको खाद्य भण्डारबाट २५ क्विन्टल चामल दिने निर्णय गरेको छ । महासचिव नेत्रविक्रम चन्दका अनुसार शनिबार बसेको उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले पार्टी कोषबाट एक लाख रुपैयाँ राज्यको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ । राहत संकलन गर्ने र चिकित्सकहरूको टोली पठाउने पनि चन्दले जानकारी दिए । 

चिकित्सकको टोलीसहित जाजरकोट पुग्यो रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरू भूकम्पपीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन भएका छन् । पीडितको उद्धार, राहत तथा परिस्थितिको स्थलगत अध्ययनका लागि रास्वपाका सभापति रवि लामिछाने आफैँ जाजरकोट पुगेका हुन् । महामन्त्री डा. मुकुल ढकाल र सांसद डा. तोसिमा कार्कीको संयोजकत्वमा चिकित्सकको दुई टोली पनि घाइतेको उपचारमा खटिएको छ । सांसद कार्कीले भूकम्पबाट घाइतेको आकस्मिक अपरेसन र उपचारका लागि चिकित्सकको टोलीसहित जाजरकोट पुगेको बताइन् । टोलीमा हाडजोर्नी विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन, मेडिकल अफिसर र जनरल सर्जन रहेको उनले बताइन् । 

महामन्त्री ढकालका अनुसार रास्वपाले राहत तथा उद्धार कार्यलगायत अन्य कार्यमा राज्यका संयन्त्रसँग आवश्यक समन्वय गर्नका लागि समिति नै बनाएको छ । सांसद सुमना श्रेष्ठलाई लजिस्टिकलगायत अन्य व्यवस्थापनको जिम्मा दिइएको छ । कार्की र डा. प्रभात अधिकारीलाई स्वास्थ्य उद्धार, विष्णुकुमार श्रेष्ठलाई राहत तथा उद्धार र प्रतिभा रावललाई टिम व्यवस्थापन एवं अन्य आवश्यक समन्वयको जिम्मेवारी तोकिएको छ । 

राप्रपाले दुई नेतालाई खटायो जाजरकोट
राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष मुकुन्दश्याम गिरी र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई भूकम्पग्रस्त क्षेत्रमा पीडितको उद्धार तथा राहतमा समन्वय गर्न जाजरकोट पठाएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उपाध्यक्ष गिरी नेतृत्वको टोली सुर्खेतबाट र प्रमुख सचेतक शाही अछामबाट जाजरकोट पुगेको छ । दुवैलाई अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिमका सबै कार्यक्रम स्थगित गरी भूकम्पग्रस्त क्षेत्र जाजरकोट पुग्न निर्देशन दिएको उनले जानकारी दिए । राप्रपाले जाजरकोट भूकम्पकै विषयमा छलफल गर्न आइतबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाएको छ । 

उद्धार, राहत र उपचारका लागि राष्ट्रपतिको प्रधानमन्त्रीलाई आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग क्षतिका बारेमा जानकारी लिँदै पीडितको उद्धार, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गरेका हुन् । भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिबार टेलिफोन गरेर पौडेलले यस्तो आग्रह गरेका थिए । उनले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि समेत आग्रह गरेका छन् । 

लुम्बिनी र बागमतीले डेढ–डेढ करोड, कोशी र सुदूरपश्चिम सरकारको एक–एक करोड सहयोग 
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि लुम्बिनी प्रदेश सरकारले डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको मन्त्रिपरिषद् बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । लुम्बिनी सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ । लुम्बिनी सरकारले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूलाई राहतस्वरूप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपत्कालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनले बागमती प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा गरी केही दिनमै सहयोग रकम कर्णाली सरकारलाई हस्तान्तरण गर्ने बताए । 

कोशी प्रदेश सरकारले एक करोड सहयोग प्रदान गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राहत कोषमा जम्मा हुने गरी भूकम्पपीडितहरूको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताए । उनका अनुसार भूकम्पपीडितका लागि आवश्यकताअनुसार राहत सामग्री र उपचारका लागि स्वास्थ्यकर्मी र सामग्री पठाउने व्यवस्था पनि प्रदेश सरकारले मिलाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पीडितको सहायताका लागि तत्काल एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय बैठकले गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए । 

गण्डकीले पठायो चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली 
गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डा. विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ गएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पठाएको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले शनिबार प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै जाजरकोट र रुकुम पश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपत्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछ,’ अपिलमा भनिएको छ । 

सात ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा 
 सुर्खेतबाट भूकम्प प्रभावितहरूका लागि शनिबार बिहान सात ट्रक खाद्यान्न तथा त्रिपाल, कपडा पठाइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । ‘थप राहत तथा सहायता सामग्री नेपाली सेनाको स्काई ट्रकबाट भूकम्प प्रभावित क्षेत्र पठाउने काम युद्धस्तरमा भइरहेको छ,’ उनले भने । भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि कर्णाली प्रादेशिक अस्पतालमा सेनाले मेडिकल क्याम्प खडा गरेको छ । प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालिबहादुर गणले मेडिकल क्याम्प खडा गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालिबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए । ‘अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको हो,’ उनले भने, ‘घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइनेछ ।’ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अहिले ५० बेड खाली रहेको र २५ जना भूकम्पबाट घाइते भएको उपचार भइरहेको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।