
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारमा रहँदा एउटा र बाहिर रहँदा अर्को व्यवहार प्रदर्शन गर्ने नेपाली राजनीतिको प्रवृत्ति सुधार गर्नुपर्ने औँल्याएका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पुनले राजनीतिक दल र नेताहरूका संस्कार र संस्कृति कमजोर भएका कारण त्यसो हुने गरेको बताए। दल, नेता र समाजले आफूलाई पुनरावलोकन गर्नुपर्ने क्षण आएको उनको भनाइ थियो। पुनले नेपालमा राज्य नै बन्न नसकेको भन्दै त्यसका लागि बलिया संरचना निर्माण हुनुपर्नेमा जोड दिए।
‘हामीले वेलावेलामा आफू, आफ्नो दल र समाजलाई पुनरावलोकन गर्नुपर्छ। आफ्ना संस्थाहरूलाई बलियो कसरी बनाउने भन्नेमा राष्ट्रिय प्रयत्नहरू वेलावेलामा भए पनि सार्थक हुन सकेको छैन। हामी आफू र आफूले समर्थन गरेको राष्ट्रपति हुँदा गर्ने काम र अर्को पक्षले समर्थन गर्ने राष्ट्रपतिको उस्तै कामलाई पनि फरक दृष्टिकोणले हेर्छौँ। आफू सरकारमा हुँदा गरिएका ठ्याक्कै त्यस्तै निर्णयहरू, त्यही विधेयक, त्यही अध्यादेश पछिल्लो सरकारले कार्यान्वयन गर्दा हामी फरक दृष्टिकोण बनाउँछौँ,’ पुनले भने, ‘किन यसो गर्छौँ ? त्यही विदेश नीति हुन्छ । त्यही आन्तरिक नीति हुन्छ । आफ्नो सरकारले एउटा गर्छ, तर अर्कोले गरेका त्यही कुराहरूको मूल्यांकन गर्दा किन फरक दृष्टिकोण हुन्छ ? संस्था बलियो बनाउने, संस्थागत दृष्टिकोण बनाउने र संस्थागत निर्णयहरूलाई जिम्मा लिने खालको हाम्रो सोच, प्रवृत्ति, संस्कृति बनेन।’
प्रतिनिधिसभा, सरकार, न्यायालय तथा संवैधानिक निकायहरूलाई एउटा विधिमा स्विकार्नेभन्दा आफू हुँदा भएका सबै ठीक र आफू नहुनेबित्तिकै त्यही काम शंकाको दृष्टिमा पर्ने प्रवृत्ति सच्चिनुपर्ने उनको भनाइ छ।
उपमहासचिव पुनले विगतमा सँगै चुनाव लडेको, पटकपटक सरकारमा सहकार्य गरेको र पार्टी एकतासमेत गरेको स्मरण गर्न एमाले नेतृत्वलाई आग्रह गरे। द्वन्द्वको पृष्ठभूमिबाट आएका दलहरूसँगै सरकारमा बस्न हुने एवं माओवादी, सेना र प्रहरी एकै ठाउँमा बसेर एक–अर्कालाई स्वीकार गरे पनि पीडितले न्याय पाउन ढिलाइ भइरहेकोमा उनले प्रश्न गरे।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नेपाली अर्थतन्त्र क्रमशः लयमा फर्किँदै गरेको दाबी गरे। वैदेशिक मुद्रा सञ्चिति पर्याप्त रहेको तथा पुँजी निर्माण गर्ने खालका वस्तुको आयात बढ्नुले अर्थतन्त्रमाथिको बाह्य चाप कम हुँदै गएको संकेत गर्ने उनको भनाइ थियो।