
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।
आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकाेप्टरमार्फत आज बिहान पोखरामा ल्याइएको थियो। अस्पताल ल्याएलगत्तै बिहान ९ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
हेलिकाेप्टरमार्फत गत आइतबार आधार शिविर पुगेका ढुंगानालाई पैदल फर्कने क्रममा श्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ । उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए।
महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा जाएका थिए। गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो। रासस