एनआइसी एसिया क्यापिटलले सञ्चालनमा ल्याएका सामूहिक लगानी कोषहरूको सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज)को मिति तोकेको छ । क्यापिटलको सञ्चालक समितिले कात्तिक २२ गतेका दिन बुक क्लोज गर्ने मिति तोकेको हो ।
यसअघि सञ्चालक समितिले म्युचुअल फन्डहरूको लाभांश तोकेको जनाइएको छ ।
जसअनुसार आर्थिक वर्ष ०७९/८० का लागि एनआइसी एसिया ग्रोथ फन्डमा इकाइधनीलाई करसहित १०.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्स्ड फन्डमा इकाइधनीलाई करसहित १० प्रतिशत लाभांश तोकेको जनाइएको छ ।
एनआइसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दास्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत तथा पाँचौँ वर्ष अर्थात् आव ०७९/८० का लागि घोषणा गरेको १०.५० प्रतिशतसहित हालसम्म ७५.५० प्रतिशत नगद प्रतिफल वितरण गरी औसतमा १५.१० प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको जनाइएको छ ।
त्यस्तै, एनआइसी एसिया ब्यालेन्स्ड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष अर्थात् आव ०७९/८० का लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गरी औसतमा १५.२५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको जनाएको छ ।