
झन्डै २० मिनेट लामो सम्बोधनका क्रममा गुटेरेसले सांसदहरूबाट तालीको गड्गडाहट पाइरहे
अपराह्न ४ बजे कडा सुरक्षासहितको कारगेडमा नयाँ बानेश्वरस्थित संसद् भवन आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई संघीय संसद्का महासचिव भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले प्रवेशद्वारमा स्वागत गरेका थिए ।
त्यसपछि संसद् भवनभित्र तिलिचो कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, कानुनमन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरे । त्यसक्रममा गुटेरेस र सभामुख घिमिरेबीच संक्षिप्त कुराकानी भयो । सदन सञ्चालनको घन्टी बजेपछि सभामुख घिमिरे, अध्यक्ष तिमिल्सिना, उपसभामुख राना, उपाध्यक्ष अर्यालले गुटेरेसलाई सदनको हलमा प्रवेश गराए ।
गुटेरेसले सदनमा प्रवेश गर्दै सांसदहरूलाई नमस्ते गरे । प्रतिनिधिसभाको हलमा दायाँतिर गुटेरेसलाई विशेष कुर्सी राखिएको थियो । उनको सम्बोधन सुन्न दर्शकदीर्घा भरिभराउ थियो । संवैधानिक अंगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा अधिकारी, राजदूत तथा कूटनीतिक नियोगका अधिकारी, पूर्वप्रधानमन्त्रीलगायत राजनीतिज्ञहरू सदनमा उपस्थित थिए ।
गुटेरेसको झन्डै २० मिनेटको सम्बोधनका क्रममा सदन तालीको गड्गडाहटले गुञ्जिएको थियो । सम्बोधनपछि संयुक्त सभाले धन्यवाद प्रस्ताव पारित गर्यो । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरे भने गुटेरेसले सभामुख ड्यास र सांसदहरूतिर फर्किएर दुईपटक नमस्ते गरेका थिए ।
सदन हलबाट बाहिरिने क्रममा गुटेरेसले विपक्षी दलका नेता केपी ओलीसँग हात मिलाएका थिए, प्रधानमन्त्रीलाई नमस्ते गरेका थिए । सांसदहरूतिर हेर्दै नमस्ते गर्दै बैठक कक्षबाट बाहिरिए । संसद् महासचिव, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवले गाडीसम्म पुर्याएर उनको बिदाइ गरे ।