१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Sunday, 11 May, 2025
कमलराज भट्ट काठमाडाैं
२o८o कार्तिक १५ बुधबार o६:३o:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसद्लाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने–संक्रमणकालीन न्याय सजिलो छैन, तर नेपाल एक्लै छैन, राष्ट्रसंघ सहयोग गर्न तयार छ

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार o६:३o:oo

बुद्धको जन्मस्थल लुम्बिनीबाट महासचिव गुटेरेसको आह्वान– शान्ति र मानवता अपरिहार्य विषय हो । मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ । संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण छ ।

जलवायु परिवर्तनबारे चिन्ता व्यक्त गर्दै भने– जलवायु परिवर्तनको मुख्य कारक विकसित र औद्योगिक राष्ट्रहरू हुन्, यसमा नेपालको कुनै हात छैन । अरू धनी राष्ट्रहरूले गर्दा विश्वमा जलवायु परिवर्तन भइरहेको छ, त्यसको असर नेपालले पनि भोगिरहेको छ । जलवायु परिवर्तनले नेपालको हिमालय क्षेत्रको हिउँ पग्लिरहेको छ । ३० वर्षमा नेपालले आफ्ना हिमनदीको एकतिहाइ गुमाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्यायमार्फत शान्ति प्रक्रिया टुंग्याउने नेपालको प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय प्रक्रिया सहज नभएको, तर यो टुंग्याउने प्रक्रियामा नेपाल एक्लै नरहेको बताएका हुन् । 

‘तपाईंहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’ गुटेरेसले भने, ‘पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । तर, यो सजिलो भने छैन ।’

संक्रमणकालीन न्याय एउटा नाजुक र जटिल प्रक्रिया रहेको भन्दै उनले समावेशी, बृहत् तथा पीडितहरूलाई केन्द्रमा राखेर अघि बढ्दा मात्रै संक्रमणकालीन न्याय सफलतामा पुग्ने बताए । ‘तब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ, जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन्, जब मानव अधिकार उल्लंघनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन्,’ उनले भने, ‘नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईंहरू एक्लो हुनुहुन्न । अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच अदालतको फैसला र पीडितहरूको माग सम्बोधन गर्ने प्रक्रियाको विकास गर्न संयुक्त राष्ट्रसंघ तपाईंहरूलाई सहयोग गर्न तयार छ ।’ 

नेपालमा पहिलोपटक सन् १९७० को दशकमा आएको बताएका उनले नेपाल आउँदा छक्क परेको बताए । भावुक हुँदै उनले भने, मैले यहाँ देखेका र अनुभव गरेका कुरा मसँग सधैँ रहनेछन् ।’ हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधता तथा लुम्बिनीको पवित्रता अनुभव गरेको उनले सुनाए । 

मध्यपूर्वमा नेपालीमाथि क्रूर आक्रमण
महासचिव गुटेरेसले वैश्विक संकटलगायतका विषयमा पनि धारणा राख्दै इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सहानुभूति दिएका छन् । उनले मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली रहेको भन्दै सहानुभूति जनाए । उनले त्यहाँ मारिएका १० विद्यार्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बेपत्ता विपिन जोशीको सकुशल रिहाइका लागि कामना गरेका छन् । 

गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गएको, ठूला शक्तिहरूबीच प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र भइरहेको भन्दै यी संकटको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्ने उनको भनाइ थियो । 

नेपालको प्रशंसा गर्दै उनले भने, ‘यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो । दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईंहरू आफैँले बनाउनुभएको छ ।’

२० वर्षमा नेपालको उल्लेखनीय प्रगति, संविधानमा राष्ट्रसंघीय बडापत्र 
महासचिव गुटेरेसले पछिल्ला २० वर्षमा नेपालको राजनीतिक यात्रा हेर्न लायक र अद्भूत रहेको भन्दै प्रशंसा गरे । ‘नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ,’ उनले भने, ‘तपाईंहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नुभयो र धेरै (सूचकहरू)मा प्रगति गर्दै हुनुहुन्छ ।’

नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको र युद्धबाट नेपाल शान्तितर्फ उन्मुख भएको भन्दै प्रशंसा गरे । ‘यो यस्तो प्रक्रिया हो जसलाई संयुक्त राष्ट्रसंघले सहयोग गर्न पाउँदा गर्व लागेको छ,’ उनले भने ।

नेपाल परिवर्तशील रहेको र नेपालको प्रगतिको गतिशील कथा आज पनि निरन्तर रहेको भन्दै उनले प्रशंसा गरे । ‘अल्पविकसित देशको स्थितिबाट तपाईंहरू अगाडि बढ्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघ नेपालको सहज संक्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ,’ महासचिवले भने । 

नेपालसँग राष्ट्रसंघको गहन सहकार्य 
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको र सहकार्य गहन रहेको बताए । ‘नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अति कम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ,’ गुटेरेसले भने, ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ ।’

विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्रसंघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो । ‘नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु,’ शान्ति सैनिकप्रति उनले सम्मान जनाए । उनले शान्ति मिसनमा जीवन गुमाएका नेपाली सैनिकहरूको सम्मानमा एक मिनेट मौनधारणको प्रस्ताव गरेपछि नेपाली सांसदहरूले मौनधारण गरेका थिए । 

जलवायु कार्यमा नेपाल अग्रपंक्तिमा, तर ३० वर्षमा गुमायो हिमनदीको एकतिहाइ
महासचिव गुटेरेसले जलवायुसम्बन्धी कार्यमा नेपाल अग्रपंक्तिमा रहेको बताए । नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यतिर अघि बढेकोमा उनले प्रशंसा गरे । 

नेपालको वनले करिब आधा भाग ओगटेको उनले बताए । ‘तपाईंहरू सबै पहलका लागि हाम्रो पूर्वचेतावनी प्रणालीका अग्रगामीहरूमध्ये एक हुनुहुन्छ, जसको लक्ष्य २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्नु हो,’ उनले भने, ‘वैश्विक संकटहरूले नेपाललाई अझै नराम्ररी प्रहार गरिरहेका छन् किनकि नेपाल विश्वका विकासोन्मुख देशहरूमध्ये एक हो ।’ 

उनले वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश भएको, तर नेपालले नकारात्मक असर व्यहोर्नुपरेको बताए । ‘तर मनसुन, आँधीबेहरी, पहिरो तीव्रता र भीषणताको हिसाबले बढ्दै छन्,’ उनले भने, ‘हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन् । नेपालले ३० वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एकतिहाइ गुमाएको छ ।’ 

महासचिव गुटेरेसले जलवायु परिवर्तनको विनाशकारी प्रभाव देखिएकोे बताए । ‘पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ,’ उनले भने । 

एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी दिने हिमालयका नदीहरू संकुचित हुँदै गएपछि ठूलो जनसंख्यालाई गम्भीर संकटमा पार्ने भन्दै उनले ध्यानाकर्षण गराए । ‘भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ,’ उनले भने, ‘पानी तथा जमिनका लागि भयंकर प्रतिस्पर्धा हुनेछ । जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ त्यो डरलाग्दो अन्याय हो । जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसंघ उनीहरूको साथमा छ ।’

नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताए । उनले भने, ‘मैले दिगो विकास लक्ष्य र जलवायु कार्यका लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा पाँच खर्ब डलर प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु । सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई अगाडि बढाउन प्रतिबद्ध भएका छन् । म उनीहरूलाई यी प्रतिबद्धताहरूलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि अब कार्य गर्न आह्वान गर्दछु,’ महासचिव गुटेरेसले भने । विकसित देशहरूले वार्षिक एक खर्ब डलर दिने वाचा पूरा गर्नुपर्ने उनको भनाइ थियो । उनले यस वर्षको कोप २८ (जलवायु परिवर्तनसम्बन्धी सम्मेलन)मा सबै पक्षहरूले नोक्सान र क्षति कोषलाई परिचालन गर्नुपर्ने भन्दै नेपाली जनता त्यसैमा निर्भर रहेको पनि बताए । 

बहुध्रुवीय विश्व सबैको अवसर
महासचिव गुटेरेसले नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको मित्र रहेको भन्दै त्यो प्रणालीलाई पुनर्ताजगी, पुनरुत्थान र सुधारको निकै आवश्यकतामा जोड दिए । ‘संसार परिवर्तनको अवस्थामा छ । यो बहुध्रुुवीयतातर्फ अघि बढिरहेको छ,’ उनले भने, ‘बहुधु्रवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ । तर, शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्थाहरू चाहिन्छन् ।’ आजको वास्तविकता प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू आवश्यक रहेको र त्यसमा विकासोन्मुख मुलुकहरूको प्रतिनिधित्व बढ्नुपर्नेमा उनको जोड थियो । उनले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको पनि सुनाए । 

संसद् भवनमा महासचिव गुटेरेसको ३० मिनेट
झन्डै २० मिनेट लामो सम्बोधनका क्रममा गुटेरेसले सांसदहरूबाट तालीको गड्गडाहट पाइरहे

अपराह्न ४ बजे कडा सुरक्षासहितको कारगेडमा नयाँ बानेश्वरस्थित संसद् भवन आइपुगेका महासचिव गुटेरेसलाई संघीय संसद्का महासचिव भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले प्रवेशद्वारमा स्वागत गरेका थिए ।

त्यसपछि संसद् भवनभित्र तिलिचो कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, कानुनमन्त्री धनराज गुरुङ, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरे । त्यसक्रममा गुटेरेस र सभामुख घिमिरेबीच संक्षिप्त कुराकानी भयो । सदन सञ्चालनको घन्टी बजेपछि सभामुख घिमिरे, अध्यक्ष तिमिल्सिना, उपसभामुख राना, उपाध्यक्ष अर्यालले गुटेरेसलाई सदनको हलमा प्रवेश गराए ।

गुटेरेसले सदनमा प्रवेश गर्दै सांसदहरूलाई नमस्ते गरे । प्रतिनिधिसभाको हलमा दायाँतिर गुटेरेसलाई विशेष कुर्सी राखिएको थियो । उनको सम्बोधन सुन्न दर्शकदीर्घा भरिभराउ थियो । संवैधानिक अंगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा अधिकारी, राजदूत तथा कूटनीतिक नियोगका अधिकारी, पूर्वप्रधानमन्त्रीलगायत राजनीतिज्ञहरू सदनमा उपस्थित थिए ।

गुटेरेसको झन्डै २० मिनेटको सम्बोधनका क्रममा सदन तालीको गड्गडाहटले गुञ्जिएको थियो । सम्बोधनपछि संयुक्त सभाले धन्यवाद प्रस्ताव पारित गर्‍यो । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरे भने गुटेरेसले सभामुख ड्यास र सांसदहरूतिर फर्किएर दुईपटक नमस्ते गरेका थिए ।

सदन हलबाट बाहिरिने क्रममा गुटेरेसले विपक्षी दलका नेता केपी ओलीसँग हात मिलाएका थिए, प्रधानमन्त्रीलाई नमस्ते गरेका थिए । सांसदहरूतिर हेर्दै नमस्ते गर्दै बैठक कक्षबाट बाहिरिए । संसद् महासचिव, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवले गाडीसम्म पुर्‍याएर उनको बिदाइ गरे ।

गुटेरेसको सम्बोधनपछि कसले के भने ?

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
महासचिव गुटेरेसले नेपालको समग्र हितका विषयमा बोल्नुभयो, यो नेपाल र नेपालीको निम्ति निकै खुसी र गर्वको कुरा हो । सबै संसारले नेपाललाई मित्रको रूपमा माया र सहयोग गर्नुपर्छ, जलवायु परिवर्तनसम्बन्धी तथा गरिबी निवारणसम्बन्धी फन्डहरूमा दुनियाँले नेपाललाई ध्यान दिनुपर्छ भनेर ठूलो कुरा भन्नुभएको छ । संक्रमणकालीन न्याय टुंग्याउन उहाँ र पूरै अन्तर्राष्ट्रिय समुदायको सहयोगकै वातावरण देखेको छु । नेपालका बारेमा र नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदायको, राष्ट्रसंघको महासचिवको यति राम्रो धारणा छ, तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो वेलामा देश विभाजित देखाउनुभयो, त्यो भने दुर्भाग्य छ । 

केपी ओली, एमाले अध्यक्ष
महासचिव गुटेरेसले वातावरण, गरिबी निवारण, शान्ति प्रक्रिया टुंग्याउनेलगायत महत्वपूर्ण विषयमा प्रकाश पार्नुभएको छ । नेपाल र नेपालीको राम्रो मूल्यांकन गर्नुभएको छ । गरिब देशलाई धनी र सम्पन्न देशले सहयोग एवं समर्थन गर्नुपर्छ, राष्ट्रसंघमा जनाएका प्रतिबद्धता पूरा गर्नुपर्छ, वातावरणीय विनाशप्रति सबै सजग हुनुपर्छ भन्दै नेपालको सजगता र योगदानप्रति विशेष प्रशंसा गर्नुभएको छ ।

माधवकुमार नेपाल, ए. समाजवादी अध्यक्ष
महासचिव गुटेरेसले नेपालप्रतिको निकटता, आत्मीयता व्यक्त भएको छ, यसले नेपालीलाई गौरवान्वित बनाएको छ । उहाँको सकारात्मक बुझाइबाट संक्रमणकालीन न्याय टुंग्याउन थप बल मिलेको छ । यसमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । 

डा. शशांक कोइराला, कांग्रेस नेता  
नेपाललाई जति मद्दत गर्ने हो, त्यो गर्नुपर्छ भनेर महासचिवले विश्व समुदायलाई अपिल गर्नुभयो । हाम्रो पक्षमा स्पष्ट बोल्नुभयो । राष्ट्रसंघको प्रमुखका रूपमा आफूले पनि सक्दो सहयोग गर्ने भन्नुभएको छ । उहाँको आगमनले नेपालको मान प्रतिष्ठा बढाएको छ ।  

वर्षमान पुन, माओवादी उपमहासचिव
विकसित देशहरूले नेपालजस्ता जलवायु परिवर्तनबाट प्रभावित र जोखिममा रहेका देशहरूलाई सहयोग गर्नुपर्छ, यो दायित्व हो भन्ने सम्बोधन गर्नु खुसीको कुरा हो, नेपालको गौरव र प्रतिष्ठा बढाएको छ । साथै, विपद् जोखिम न्यूनीकरण, पर्यावरणीय सन्तुलन कायम गर्न सघाउनेछ । 

चित्रबहादुर केसी, जनमोर्चा अध्यक्ष
समयअनुकूल नेपालको अवस्थाको चित्रण गर्नुभएको छ । उहाँलाई धन्यवाद छ । राष्ट्रसंघ शान्ति प्रक्रिया टुंग्याउनुपर्छ, अल्झाएर राख्नुहुन्न भन्ने पक्षमा देखियो । 

दमननाथ ढुंगाना, पूर्वसभामुख 
राष्ट्रसंघका महासचिवको भ्रमण र संसद्मा सम्बोधनले नेपालको महत्व बढेको छ । किनभने बदलिँदो विश्वमा हाम्रो रणनीतिक भूपरिस्थिति त्यस्तै थियो, अहिले नयाँ सन्दर्भहरू जोडिइरहेको छ । नेपाललाई संयुक्त राष्ट्रसंघजस्तो विश्व संस्थाले साथ दिइरहेको छ । हाम्रोजस्तो साना र अविकसित देशका लागि बहुत काम लाग्ने संस्था हो । उनीहरूका लागि पनि हामी महत्वपूर्ण भइरहेका छौँ । किनभने शान्ति कतै नखल्बलियोस् भनेर उनीहरूका केही क्षेत्रहरू, देशहरू हुन्छन्, त्यहाँ पूर्वध्यान दिइरहेका हुन्छन् । हामीकहाँ विकासका सम्भावना त्यति नै बढी छन्, जति अशान्तिका सम्भावना बढिरहेका छन्, त्यसकारण यो पक्षलाई पनि उहाँले पूर्वदृष्टि गर्नुभएको देखियो ।