१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Friday, 09 May, 2025
इस्थर एङ्गुम्बे
२o८o कार्तिक १४ मंगलबार १o:५७:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

खराब माटो पनि हो तीव्र बाढीको कारक

Read Time : > 2 मिनेट
इस्थर एङ्गुम्बे
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार १o:५७:oo

जलप्रलयका घटना बढिरहेको यस घडीमा अनुसन्धानकर्ताहरूले बाढीले असर गरेका बोटबिरुवाको स्वास्थ्यलाई सहयोग गर्ने, माटोको उर्वरता पुनर्स्थापित गर्ने तथा माटोमा बस्ने सूक्ष्म र ठूला जीवहरूको पुनः प्राप्तिमा सहयोग गर्ने उपाय गर्नुपर्छ

संसारभरि नै बाढीका घटनाको तीव्रता र आवृत्ति बढेको छ । पछिल्ला केही महिनामा मात्र न्युजर्सी, न्युयोर्क, लिबिया र ग्रिसमा आएका भीषण बाढीले हजारौँ मानिसको ज्यान लिएको छ भने पूर्वाधार, खेतबारी र पशुधनमा व्यापक क्षति पु¥याएको छ । यसले कृषिमा दबाब सिर्जना गरी खाद्य असुरक्षा निम्त्याउन सक्छ । 

बाढीबाट माटोमा पर्ने असर देखिने विनाशको तुलनामा सूक्ष्म हुन्छ, तर यो कम महत्वपूर्ण हुँदैन । बाढीले माटोको जीवविज्ञान र स्वास्थ्यलाई हानि पुर्‍याउनुका साथै माटोमा बसेर झरपात कुहाउने, पोषकतत्वलाई टुक्य्राएर पुनः उपयोगी बनाउने, बोटबिरुवाको वृद्धिलाई उत्प्रेरित गर्ने, हानिकारक कीरालगायत अवरोधकलाई हटाउनेजस्ता आधारभूत कार्य गर्ने लाभकारी सूक्ष्मजीव र किरालाई पनि हानि पुर्‍याउन सक्छ । यस सहजीवी इकोसिस्टम (पर्याप्रणाली)को क्षतिले बाली उत्पादनमा दूरगामी प्रभाव पार्छ ।

इलिनोइस विश्वविद्यालयस्थित मेरो प्रयोगशालाको एउटा नयाँ अनुसन्धानले बाढीले माटोका माइक्रोबियल (सूक्ष्मजीव जगत्) तथा मकै र टमाटरजस्ता कृषि उत्पादनमा पार्ने प्रभावको अनुसन्धान गरिरहेको छ । हाम्रो र अन्य विज्ञका अनुसन्धानले पनि बाढीका कारण माटोमा अत्यधिक ओसिलोपनले बालीको उत्पादनमा गम्भीर हानि निम्त्याउन सक्ने देखाएका छन् । बाँझोपन र बालीनालीको नोक्सानी बढाउने देखाएका छन् ।

अहिलेसम्मको अध्ययन तुलनात्मक रूपमा सीमित भए पनि बाढीले माटोको कार्यप्रणाली र माटोको माइक्रोबियल समुदायलाई नकारात्मक असर पार्न सक्छ भन्ने कुरा देखाएको छ । वसन्त ऋतुमा उत्पादन हुने गहुँमा गरिएको एउटा प्रयोगले बाढीले लाभकारी जीवाणुलाई नष्ट गरेको र बोटबिरुवाका निम्ति हानिकारक जीवाणु बढाएको पाएको थियो । अर्को प्रयोगात्मक अनुसन्धानले यस्ता चरम मौसमी घटनाले माइक्रोबियल र माटोका ढुसीजन्य जीवाणुको संख्यामा उल्लेख्य कमी आएको देखाएको थियो ।

बाढीले कृषिलाई टेवा दिने सूक्ष्मजीवको अदृश्य जगत्लाई नराम्ररी क्षति पुर्‍याउन र जलवायु संकट बढ्दै जाँदा खाद्य सुरक्षामा दूरगामी प्रभाव पार्न सक्छ । त्यसैले अनुसन्धाताले बाढीले निम्त्याएको माटोको क्षयीकरण रोक्ने उपाय पहिचान गर्ने काम गर्नुपर्छ । 

यसबाहेक, बाढीको पानी कम भएपछि पनि बाँचेका जीवाणुले मौलिक रूपमा नै फरक अवस्था एवं परिस्थितिको सामना गर्ने भएकाले तीनको संख्या चाँडै पहिलेकै स्थितिमा फर्कन वा बिस्तारै सिद्धिदै जान सक्छ । माटोको स्वस्थ्य र कार्यात्मक माइक्रोबायोम (सूक्ष्मजीवाणु) विनापोषक तत्वहरूको रिसाइकल सम्भव हुँदैन । फलस्वरूप बोटबिरुवा कमजोर हुन्छन् । किरा र रोगजन्य जीवाणुका लागि अनुकूल वातावरण तयार हुन्छ र तिनको आक्रमणका लागि मार्ग प्रशस्त गरिदिन्छ ।

माटोको स्वास्थ्य बिग्रनु बोटबिरुवाका लागि त खराबै हो, मानिसका लागि पनि खराब हो । स्वस्थ माटो स्वस्थ खाद्य उत्पादनको आधारशिला हो । हामीलाई उच्च पोषणयुक्त बालीहरू हुर्काउन स्वस्थ माटो चाहिन्छ । खेतीका विभिन्न विधिमा गरिएका अनुसन्धानले माटोको स्वास्थ्यले खाद्य पदार्थको पोषकतत्व निर्धारणमा खेल्ने महत्वपूर्ण तर नजरअन्दाज गरिएको भूमिकालाई उजागर गरेको छ । यसको तात्पर्य हामीलाई खाद्य सुरक्षाको दृष्टिले बालीहरूमा बाढीको प्रभाव बुझ्न थप अनुसन्धानको आवश्यकता छ । बाढीले माटोका लाभदायक सूक्ष्मजीवमा पार्ने प्रभावका साथै माटोको जीवविज्ञान, गुणस्तर र स्वास्थ्यमा बाढीले कसरी प्रभाव पार्छ भन्ने विषयमा धेरैभन्दा धेरै अनुसन्धान आवश्यक छ । 

अझ महत्वपूर्ण कुरा के भने जलप्रलयका घटना बढिरहेको यस घडीमा अनुसन्धानकर्ताले बाढीले असर गरेका बोटबिरुवाको स्वास्थ्यलाई सहयोग गर्ने, माटोको उर्वरता पुनस्र्थापित गर्ने र माटोमा बस्ने सूक्ष्म र ठूला जीवहरूको पुनः प्राप्तिमा सहयोग गर्ने उपाय पहिचान गर्न काम गर्नुपर्छ । उदाहरणका लागि, बाढीपछि तुरुन्तै नाइट्रोजन मलको प्रयोगलाई बाढीको दुष्प्रभाव कम गर्ने एउटा रणनीतिका रूपमा प्रस्तावित गरिएको छ । यसले बाढीले डुबाएको बोटविरुवालाई पुनर्जीवन दिन सक्छ । 

दुर्भाग्यवश, माटोका सूक्ष्मजीवाणु र ठूला जीवाणुलाई पुर्नस्थापित गर्न बोटबिरुवाहरूलाई भन्दा बढी समय लाग्न सक्छ । तिनको पुनस्र्थापना बाढीको अवधि, गम्भीरता, माटोको भिज्नुअघिको अवस्थालगायत धेरै कारकमा निर्भर गर्छ । यसमा एक वर्षदेखि धेरै वर्षसम्म लाग्न सक्छ । माटोको क्षय रोक्ने कभर क्रप्सहरूको प्रयोग यी जीवलाई पुनस्र्थापित गर्न सिफारिस गरिएका उपायमध्ये एक हो ।

यी अनुसन्धान प्रयासलाई भविष्यमा कहाँ बाढीका घटना हुन सक्छन् र ती कति लामो समयसम्म रहन्छन् भनेर निर्धारण गर्न मद्दत गर्ने मोडेलिङ अध्ययनले परिपूरण गर्नुपर्छ । सबैखाले वातावरणीय अवस्थामा प्रयोगधर्मी अनुसन्धान सञ्चालन गर्न सम्भव हँुदैन । यसैले बाढीको मोडलिङ पूर्वकल्पना (हाइपोथेसिस) को परीक्षण र विभिन्न परिदृश्यको विश्लेषण गर्ने विशेषगरी माटोको गुणस्तर, माइक्रोबियल समुदाय र बोटबिरुवाको स्वास्थ्यको परीक्षण गर्ने महत्वपूर्ण उपकरण हो ।अनुसन्धानका यी पहल र मोडेलिङ अध्ययनका तथ्यांकलाई सरकार र मानवतावादी एजेन्सीमाझ व्यापक रूपमा प्रसारित र सम्प्रेषित गरिनुपर्छ । यसो गर्दा नीति–निर्माता र नागरिक समाजका नेताहरूले बाढीले निम्त्याएको माटोको क्षयीकरण रोक्ने रणनीति र उपाय तर्जुमा गर्न सक्छन् । 

देशहरूले बाढी, माटोको गुणस्तर, बोटबिरुवाको स्वास्थ्य र खाद्य असुरक्षाबीचको कडीहरूलाई जोड्नुपर्छ । हामीले कृषिलाई टेवा दिने सूक्ष्म जीवनको अदृश्य जगत्को हेरचाह गर्दा मात्र बाढीले बालीनालीको उत्पादनमा पार्ने हानिकारक प्रभावलाई न्यूनीकरणको बृहत् तयारी रणनीति तर्जुमा गर्न र वैज्ञानिक हस्तक्षेपहरूको डिजाइन गर्न सक्छौँ । हेक्का राखौँ, चरम मौसमी घटना सामान्य र अधिक तीव्र हुँदै गइरहेको यो समय माटोलाई धुलो वा फोहोरलाई जस्तो व्यवहार गर्न बन्द गर्ने समय हो ।
– प्रोजेक्ट सिन्डिकेटबाट (एङ्गुम्बे अर्वाना स्याम्पेनस्थित युनिभर्सिटी अफ इलिनोइसका कीटविज्ञानका उपप्राध्यापक हुन्)