१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लन्डनमा आज नेपालको लगानी सम्मेलन

बेलायतबाट नेपालको जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, पर्यटनलगायतमा लगानी भित्र्याउने उद्देश्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o३:oo

बेलायतबाट नेपालको जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, पर्यटन तथा शिक्षालगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित मंगलबार लन्डनमा लगानी सम्मेलन हुँदै छ । बेलायतस्थित नेपाली दूतावासको आयोजनामा त्यहाँको सिटी अफ लन्डनको मेनसिन हाउसमा लगानी सम्मेलन हुनेछ ।

दूतावासले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टको सहयोगमा उक्त सम्मेलन गर्न लागेको हो । बेलायतका स्थानीय बैंकहरू, दातृनिकाय तथा लगानीकर्ताबाट नेपालको जलविद्युत्लगायतका पूर्वाधार आयोजनामा लगानी भित्र्याउने सम्मेलनको उद्देश्य छ । 

सम्मेलनमा सहभागी हुन नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसहित सरकार तथा निजी क्षेत्रका प्रतिनिधि बेलायत पुगिसकेका छन् ।

मंगलबार त्यहाँको समयअनुसार १२: ३० मा सम्मेलनको उद्घाटन हुनेछ । उद्घाटन समारोहमा अर्थमन्त्री डा. महत, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित बेलायतका विशिष्ट व्यक्तिहरूले मन्तव्य राख्नेछन् । त्यसपछि नेपालको जलविद्युत्, शिक्षा, सूचना प्रविधिलगायतका क्षेत्रको सम्भावनाबारे छुट्टाछट्टै छलफल हुनेछ । सम्मेलनमा नेपालको अर्थ मन्त्रालय र त्यहाँको डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसनबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गर्ने कार्यक्रम पनि रहेको छ । 

२१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धिको १०० वर्ष पूरा भएको अवसरसमेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूतावास बेलायतले जनाएको छ । मुख्यतः  नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिस लगानी भित्र्याउने उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन आयोजना गरिएको हो । 

बेलायती लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक
यसैबीच, बेलायतका बैंकसमेतका लगानीकर्ता नेपालको जलविद्युत्  पूर्वाधार आयोजनामा लगानी गर्न इच्छुक पनि देखिएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार बेलायतका बैंकलगायत लगानीकर्तासँग छुट्टै विशेष छलफल आयोजना गरिएको थियो । त्यसमा अर्थमन्त्री डा. महत, डेपुटी गभर्नर मिश्रसहित नेपालबाट गएका सरकार तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए । त्यो छलफलमा बेलायतका बैंक तथा स्थानीय लगानीकर्ताले नेपालको जलविद्युत्समेतका पूर्वाधारमा ऋण, इक्युटी, ग्रिन्ड फन्डलगायतका माध्यमबाट लगानी गर्ने इच्छा देखाएका छन् । कार्यक्रममा सहभागी इप्पानका अध्यक्ष गणेश कार्कीले बेलायती लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक देखिएको बताए । 

‘मंगलबार हुने सम्मेलनको अवसरमा सोमबार यहाँ (बेलायत) का लगानीकर्ता, बैंकहरूसँग छुट्टै छलफल भएको थियो । त्यसमा यहाँका लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक देखिएका छन्, यो सकारात्मक पक्ष हो । सम्मेलनले यसमा अझै प्रगति हुने आशा पनि छ,’ उनले भने, ‘अब यसलाई सफल बनाउन नेपाल सरकारले लगानीमैत्री नीति बनाउने, बेलायती लगानीकर्ताहरूसँग लगानीको लगि पहलकदमी बढाउनेलगायतका काम गर्नुपर्छ ।’

नेपाल सरकारले आगामी १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरेको छ । त्यो लक्ष्य पूरा गर्न साढे ४६ अर्ब डलर लगानी आवश्यक देखिएको छ । त्यो अवस्थामा यो सम्मेलन लगानी जुटाउन ठूलो अवसर हुने पनि अध्यक्ष कार्कीले बताए । 

‘नेपालमा लक्ष्यअनुसार जलविद्युत् उत्पादन गर्न ठूलो लगानी जुटाउनुपर्नेछ । त्यो अवस्थामा लगानी जुटाउन यो कार्यक्रम ठूलो अवसर हो,’ बेलायतबाट टेलिफोन सम्पर्कमा कार्कीले भने, ‘यसलाई सफल बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्छ । साथै, हामी निजी क्षेत्रले पनि आवश्यक पहल गर्नुपर्छ ।’

ad
ad