१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:३३:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल भ्रमणमा : बुद्धभूमिबाट विश्वशान्तिको सन्देश

नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य, जलवायु परिवर्तन र इजरायल–प्यालेस्टाइनमा जारी हिंसालगायतका विषयमा राजनीतिक नेतृत्वसँग छलफल

Read Time : > 5 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:३३:oo
  • इजरायलको गाजा क्षेत्रमा मानवीयताका आधारमा तत्काल युद्धविराम गर्न आह्वान
  • महासचिव गुटेरेसको सम्मानमा सरकारको रात्रिभोज 
  • पाटन दरबार स्क्वायरको गरे भ्रमण, आज र भोलि सोलुखुम्बुको स्याङ्बोचेदेखि पोखरा र लुम्बिनीसम्मको भ्रमण गर्ने
  • मंगलबार अपराह्न संघीय संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिका दूत गौतम बुद्धको भूमि नेपालबाट विश्वशान्तिको अपिल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार सिंहदरबारमा भेटवार्तापछि पत्रकारसँग कुराकानी गरेका उनले अहिले विश्वमा बुद्धले भनेको अहिंसाको सान्दर्भिकता बढेर गएको बताए ।

महासचिव गुटेरेसले आफू भगवान् बुद्धको शान्तिको शिक्षा चिन्तन गर्न पोखरा र लुम्बिनीको यात्रामा जान लागेको बताए । ‘अहिलेको समस्याग्रस्त संसारमा बुद्धले भन्नुभएको अहिंसा पहिलेभन्दा बढी सान्दर्भिक छ,’ उनले भने, ‘किनभने नेपाल विश्वको मित्र हो, त्यसैले विश्व नै नेपालको असल मित्र हुनुपर्छ ।’ महासचिव गुटेरेस सोमबार लुम्बिनी जाँदै छन् । कांग्रेस सभापतिसँगको भेटमा महासचिव गुटेरेसले विश्वशान्तिका लागि गौतम बुद्धबाट थप प्रेरणा प्राप्त होस् र बुद्ध जन्मभूमिबाट त्यसको सन्देश दिन सकियोस् भनेर लुम्बिनीको भ्रमण गर्न लागेको बताएका थिए । 

महासचिव गुटेरेसले इजरायलको गाजा क्षेत्रमा मानवीयताका आधारमा तत्काल युद्धविराम गर्नसमेत आह्वान गरेका छन् । उनले इजरायलमाथि हमासको हमला र गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै सर्वसाधारणको सुरक्षाका लागि चिन्ता व्यक्त गरे । ‘हामी कठिन र तनावपूर्ण समयमा बाँचिरहेका छौँ । मलाई थाहा छ– मध्यपूर्वको द्वन्द्व हजारौँ माइल टाढा भए पनि यो नेपालका जनताको घरमै पुगेको छ,’ इजरायलमा नेपालीहरूको मृत्यु, घाइते र बेपत्ता भएको घटनातर्फ लक्षित गर्दै महासचिव गुटेरेसले भने । 

उनले २० असोजमा इजरायलमा हमासले गरेको आतंककारी हमलामा मारिएका १० नेपाली विद्यार्थीका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । साथै उनले हमासको आक्रमणपछि उनीहरूको कब्जामा रहेको भनिएका नेपाली विपिन जोशीसहित सबैलाई मुक्त गर्न आह्वान गरे । ‘बेपत्ता विपिन जोशीको सुरक्षित फिर्ताको कामना गर्दछु,’ गुटेरेसले भने । उनले आफू अन्तर्राष्ट्रिय मानवीय कानुनको स्थापित सिद्धान्त र नियमको कडाइका साथ पालनाका लागि आफूले गरेको आह्वानमा अडिग रहेको बताए । ‘नागरिकको सुरक्षा सर्वोपरि छ,’ उनले भने । 

महासचिवले इजरायलले आफ्नो सैन्य अप्रेसन तीव्र बनाएकोमा आफू चिन्तित रहेको बताए । ‘म हमासले गरेको डरलाग्दो आक्रमणको पूर्ण निन्दा दोहोर्‍याउन चाहन्छु । सर्वसाधारणको हत्या, घाइते र अपहरण कुनै पनि हालतमा औचित्यपूर्ण छैन,’ महासचिव गुटेरेसले भने, ‘गाजाको अवस्था हरेक घन्टा थप निराशाजनक हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले बन्द गर्न गरेको आग्रहको साटो इजरायलले आफ्नो सैन्य अप्रेसनलाई तीव्र बनाएकोमा म चिन्तित छु । अनाहक नागरिकहरूलाई घाइते बनाउने र मार्ने कार्य अस्वीकार्य छ । सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वको सम्मान गर्न आग्रह गर्दछु ।’ 

महासचिव गुटेरेसले कतारबाट आफू नेपाल आएको भन्दै गाजा क्षेत्रमा हमासको कब्जामा रहेका सबैलाई विनासर्त रिहाइका लागि आग्रह गरे । ‘सबै बन्धकहरूको विनासर्त रिहाइ र गाजाका जनताको आधारभूत आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा दिगो मानवीय राहतको वितरण होस् भन्ने म अपिल गर्दछु,’ गुटेरेसले भने, ‘हामी सबै गाजा, इजरायल र नेपाललगायत विश्वभरका प्रभावित मानिसका लागि यो दुःस्वप्न अन्त्य गर्न ऐक्यबद्ध हुनैपर्छ ।’

 शान्ति प्रक्रिया टुंग्याउन नेपालले खोज्यो सहयोगको अपेक्षा, पीडितका चासो सम्बोधन हुने गरी संक्रमणकालीन

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया, दिगो विकास लक्ष्य, जलवायु परिवर्तन र इजरायल–प्यालेस्टाइनमा जारी हिंसालगायतका विषयमा छलफल गरेका छन् । आइतबार बिहान काठमाडौं आएका महासचिव गुटेरेसले पीडितलाई सहयोग गर्ने संक्रमणकालीन न्याय प्रणाली, अन्तर्राष्ट्रिय सिद्धान्त र नेपालको सर्वोच्च अदालतका निर्णय स्वीकार गर्ने प्रक्रियामा राष्ट्रसंघको सहयोग रहने आश्वासन दिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ रहेका कारण महासचिवको भेट भएन ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया टुंग्याउन अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघका महासचिवको हैसियतमा गुटेरेसको भूमिका महत्वपूर्ण रहने बताए । प्रधानमन्त्री प्रचण्डसँग आधा घन्टा औपचारिक  वार्ता भयो भने बाँकी भेटवार्ता १५ मिनेटमा सकिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा आधा घन्टा भएको भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर, नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै गरेको विषय तथा दिगो विकास लक्ष्य कार्यान्वयनको स्थितिबारे छलफल भएको छ । 
भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गरे ।

महासचिव गुटेरेसले पीडित परिवार र समुदायमा शान्ति स्थापनाका लागि मद्दत पुग्ने गरी संक्रमणकालीन न्यायप्रक्रिया टुंग्याउनुपर्ने बताए । अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकतालाई ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो । 

नेपालमा संक्रमणकालीन न्यायसहितको शान्ति प्रक्रियाको अन्तिम चरणमा केही वर्ष निर्णायक हुने पनि महासचिवले बताए । ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ,’ महासचिव गुटेरेसले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकता पूरा गर्ने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन र त्यसलाई व्यवहारमा उतार्ने गरी संयुक्त राष्ट्रसंघ नेपाललाई सहयोग गर्न तयार छ ।’ 

उनले जलवायु परिवर्तनको असर हेर्न हिमालयको भ्रमणमा जान लागेको बताए । उनले भने, ‘म हिमालयको भ्रमणमा जानेछु । हिमनदीहरूमा जलवायु संकटको भयावह प्रभावहरू हेर्नेछु । स्थिति दु्रतगतिमा नाजुक भइरहेको छ । नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ हिउँ (बरफ) गुमाएको छ । र हिउँ तीव्र रूपमा पग्लिइरहेका छन् ।’ 

उनले हिमालयका स्थानीय मानिसलाई भेट्ने तथा जलवायु परिवर्तनको असरबाट उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष सुन्न चाहेको पनि जानकारी दिए । उनी सोलुखुम्बुको स्याङ्बोचे र अन्नपूर्ण सर्किटमा गएर समुदायसँग कुराकानी गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्री प्रचण्डले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया (शान्ति प्रक्रिया) टुंग्याउन राष्ट्रसंघीय महासचिवका रूपमा गुटेरेसको भूमिका अपेक्षा गरेको बताएका छन् । भेटवार्तापछि पत्रकारहरूलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असरलगायतका विषयमा हार्दिक र सौहार्दपूर्ण कुराकानी भएको बताए । 

‘उहाँले नेपालको शान्ति प्रक्रियाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो,’ महासचिव गुटेरेससँगै उभिएर प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित राजनीतिक उतारचढावको विषय उहाँलाई सबै थाहा छ । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन महासचिवका रूपमा उहाँको भूमिका अपेक्षा गरेका छौँ । यो कुरा मैले उहाँलाई भनेको छु ।’

प्रधानमन्त्रीले विश्वशान्तिमा नेपाली सेनासहित सुरक्षाकर्मीको योगदानबारे चर्चा भएको बताए । उनले शान्ति स्थापक मिसनका फिल्ड कार्यालयमा र राष्ट्रसंघीय मुख्यालयमा नेपालीको नेतृत्वदायी भूमिकाका लागि सहयोग गर्न महासचिवलाई आग्रह गरेको जानकारी दिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले हाल विश्वका १२ मुलुकका १३ वटा शान्ति स्थापक मिसनमा ६ हजार तीन सय आठ नेपाली शान्ति सैनिक परिचालन भएको जानकारी दिँदै भविष्यमा थप शान्ति सैनिक पठाउन तयार रहेको बताए । हालका दिनहरूमा शान्ति सैनिकहरूमाथि लक्षित आक्रमणहरूबारे उपप्रधानमन्त्री खड्काले चासो राखेका थिए । उनले महिला शान्ति सैनिकहरूको सहभागिता बढाउन नेपाल प्रतिबद्ध रहेको र महिला शान्ति सैनिकको सहभागिताको १८ प्रतिशत लक्ष्य नेपालले पूरा गरेको पनि बताए । 

महासचिव गुटेरेसले नेपाली शान्ति सैनिकको अनुशासन, क्षमता र कर्तव्यपरायणताको संयुक्त राष्ट्रसंघले उच्च मूल्यांकन गरेको बताए । आफू नेपालको विकास प्रयासमा हरसम्भव सहयोग पु¥याउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । अर्को सन्दर्भमा महासचिव गुटेरेसले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रता र सहयोग सुदृढ बनाउन नेपाल आएको बताए । उनले नेपाल शान्ति र बहुपक्षीयताको च्याम्पियन भन्दै यसको लामो र गौरवशाली परम्पराको प्रशंसा गरे । उनले विश्वभर शान्ति मिसनहरूमा नेपालले गरेको योगदानको प्रशंसा गरे । 

विगत २० वर्षमा नेपालले निकै प्रगति हासिल गरेको भन्दै उनले प्रशंसा गरे । नेपाल गणतान्त्रिक मुलुक बनेको, नेपालले शान्ति स्थापना गरेको तथा दिगो विकास लक्ष्य र जलवायु परिवर्तनका सन्दर्भमा कार्य गर्दै आएको भन्दै महासचिवले प्रशंसा गरे ।

महासचिवको सम्मानमा रात्रिभोज, प्रधानमन्त्रीले भने– शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको समर्थन र अन्तर्राष्ट्रिय समुदायको सद्भावको उच्च कदर गर्छौँ 
महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ रात्रिभोजको आयोजना गरेका थिए । जहाँ संक्षिप्त सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको समर्थन र अन्तर्राष्ट्रिय समुदायको सद्भावको उच्च कदर गर्ने बताए । ‘नेपाल एक युगान्तकारी राजनीतिक परिवर्तनपछि शान्तितर्फ उन्मुख भइरहेका वेला सन् २००८ मा तपाईंका पूर्ववर्ती महामहिम बान की मुनलाई स्वागत गरेको मेरो सम्झना अझै ताजा छ ।

त्यसवेलादेखि, शान्ति प्रक्रियाले लामो र सफल यात्रा गरेको छ, यो यात्रा नेपाली राजनीतिक नेतृत्वको प्रतिबद्धता र दृढसंकल्प, हाम्रा जनताको स्थायी लचिलोपन र संयुक्त राष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायको निरन्तर सद्भाव र समर्थनको प्रमाण हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०१५ मा संविधान जारी भएको र संघीय प्रणालीका तीनै तहमा भएका लगातार दुईवटा लोकतान्त्रिक निर्वाचनले हामी शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको सही बाटोमा छौँ भनी पुष्टि गर्छ । शान्ति प्रक्रियाको बाँकी समापन चरणमा जाने क्रममा हामी यसलाई पनि उत्तिकै सफल ढंगले सम्पन्न गर्ने र द्वन्द्वलाई शान्ति र लोकतन्त्रमा रूपान्तरणको सफल उदाहरण प्रस्तुत गर्नेमा म विश्वस्त छु । हामी यस प्रक्रियामा संयुक्त राष्ट्रसंघको समर्थन र अन्तर्राष्ट्रिय समुदायको सद्भावको उच्च कदर गर्छौँ ।’

न्याय टुंग्याउन सहयोग गर्ने गुटेरेसको आश्वासन
 राष्ट्रसंघ सहयोग गर्न तयार छ : महासचिव गुटेरेस 

संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकता पूरा गर्ने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन र त्यसलाई व्यवहारमा उतार्ने गरी संयुक्त राष्ट्रसंघ नेपाललाई सहयोग गर्न तयार छ । 

 सहयोगी भूमिकाको अपेक्षा छ : प्रधानमन्त्री प्रचण्ड
उहाँ (गुटेरेस)ले नेपालको शान्ति प्रक्रियाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित राजनीतिक उतारचढावको विषय उहाँलाई सबै थाहा छ । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन महासचिवका रूपमा उहाँको भूमिका अपेक्षा गरेका छौँ । यो कुरा मैले उहाँलाई भनेको छु ।

 

ad
ad