१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
अर्घा भगवती मन्दिरमा तस्बिर खिचेर रमाउँदै आन्तरिक पर्यटक
नयाँ पत्रिका अर्घाखाँची
२०८० कार्तिक १० शुक्रबार ०९:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
२०८० कार्तिक १० शुक्रबार ०९:२४:००

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । दसैँ मनाउन घर आएकाहरू आजभोलि अर्घा भगवती मन्दिरमा पुग्ने गर्छन् । जसले गर्दा यहाँ आन्तरिक पर्यटकको संख्या वृद्धि भएको हो ।

बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म भागवती, वेद, पुरायण तथा दुर्गा सप्तशती पाठ भइरहेको छ । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ । हाल यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ । मूर्तिसँगै सेल्फी खिच्ने पनि बढेका छन् ।

मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिरवरिपरि चिटिक्क पारिएको छ । लिच्छविकालदेखि नै यस दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपादेउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउँछन् ।    

अर्घामा ओली 

अर्घाखाँचीको अर्घा भगवती मन्दिर परिसर (मसुरपाटा)मा श्रीमती राधिका शाक्यका साथमा एमाले अध्यक्ष केपी शर्मा ओली (फाइल तस्बिर)

गत चैतमा 'मिसन ग्रासरुट अभियान' कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली अर्घाखाँची आएका थिए । ओली अर्घाखाँची आएको समयमा अर्घा भगवती मन्दिर पुगेका थिए । उनले त्यहाँ आफ्नी श्रीमती राधिकासँगै तस्बिर समेत खिचेका थिए । जसले गर्दा अर्घा भगवती मन्दिरको प्रचारप्रसारमा समेत टेवा पुगेको थियो।