
बाजुराका भूकम्पपीडितको दसैँ यसपालि त्रिपालमा बित्ने भएको छ । भूकम्पले गर्दा घरबारविहीन भएका बाजुराको खप्तड छेडेदह गाउँपालिकाका पीडितहरूको परिवारमा विगत वर्षजस्तो यस वर्षको दसैँमा खुसियाली छैन ।
भूकम्पपीडित सुन्दरा रावतले भनिन्, ‘यस वर्ष भूकम्पका कारण हाम्रा लागि दसैँ दसाको रूपमा साबित भएको छ । सबैको घरघरमा चाडबाडको खुसियाली छाए पनि आफूहरूको घरमा भने के खाने ? कहाँ बस्ने भन्ने चिन्ता छ ।’
बझाङको तलकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गर्दा खप्तड छेडेदह गाउँपालिकामा नाै सय ९० घर पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । असोज १६ गते यता पटकपटक गएको भूकम्पले सबैभन्दा बढी नोक्सान खप्तड छेडेदह गाउँपालिकामा गरेको उनको भनाइ छ ।
खप्तड छेडेदह गाउँपालिकामा भूकम्पका कारण १२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । जसमध्ये ६ हजार बालबालिका, पाँच सयभन्दा बढी गर्भवती, दुई सयभन्दा बढी वृद्धवृद्धा, एक सयभन्दा बढी अपांगता र चार हजार विद्यार्थी विस्थापित रहेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए । रेडक्रस सोसाइटी, युनिसेफ र युएनएपिएले पीडितहरूका लागि त्रिपाल, कम्बल र केही भाँडाकुँडा वितरण गरेका छन् ।