कांग्रेस महामन्त्री गगन थापाले अबको निर्वाचनमा कांग्रेसले निर्वाचनअघि गठबन्धन गरे पार्टीका लागि घातक हुने र कांग्रेस एक नरहने भविष्यवाणी गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले निर्वाचनपूर्व गठबन्धन गरे कांग्रेसमा फुट आउने चेतावनी दिएका हुन् ।
थापाले गठबन्धनका विषयमा मंसिरमा हुने नीति अधिवेशनले स्पष्ट पारेर जानुपर्ने बताए । ‘निर्वाचनअघि गठबन्धन गर्ने पूरै अलोकतान्त्रिक पनि होइन, थुप्रै देशमा भइरहेका छन् । तर, नेपालको सन्दर्भमा यसले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउँछ, जरासम्म कुहाउँछ । रणनीतिक हिसाबले फाइदा–बेफाइदा होला, तर सैद्धान्तिक हिसाबले चुनावअगाडि गठबन्धन गलत छ । जुन कुरा सैद्धान्तिक रूपले गलत छ, कुनै पनि रणनीति बनाएर त्यसको सेवा गर्न पाइँदैन,’ थापाले भने, ‘महासमिति बैठकबाट अब कांग्रेसले गलत सिद्धान्त बोक्दैन भनेर प्रस्ट उभिनुपर्छ । चुनावपछाडि सरकार बनाउन त गठबन्धन बन्ने नै भयो । ०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडाैं भन्यो भने कांग्रेस एक रहँदैन ।’
थापाले पार्टीभित्रका असन्तुष्टि र अस्पष्टता महासमिति बैठकमार्फत हुने नीति अधिवेशनले टुंगो लगाएर जानुपर्ने बताए । उनले ०८२ भित्र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्ने बताए । ‘०८२ मा कांग्रेसको महाधिवेशन गरेर छाड्नुछ,’ उनले भने ।