१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:१८:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

समाजवादी मोर्चा : सभामा एकीकृत, एजेन्डामा तितरबितर

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१८:oo

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य लक्ष्य जनस्तरमा स्पष्ट पार्न सन्देश सभा आयोजना गरिए पनि प्रभावकारी देखिएनन्, नेताहरूका अभिव्यक्ति अन्यत्रै भड्किए

आबद्ध दलका नेताहरूले सभाहरू उद्देश्यमा सफल भएको दाबी गरे पनि सातवटै प्रदेशमा सन्देश सभा गरेको समाजवादी मोर्चा एजेन्डामा भने तितरबितर देखिएको छ । सत्तारुढ माओवादी, एकीकृत समाजवादी, जसपा तथा सत्ताबाहिरको नेकपा आबद्ध समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गरेको छ, तर नेताहरूको भाषण एउटै मुद्दामा केन्द्रित छैन । 

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य लक्ष्य राखेर गत ४ असारमा मोर्चा बनेपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा भएका हुन् । सुदूरपश्चिममा दुईपटक स्थगित भएको सन्देश सभा गत आइतबार सम्पन्न भएको छ । मोर्चामा आबद्ध दलका नेताहरूले सभाहरू उद्देश्यमा सफल भएको दाबी गरेका छन् । मोर्चाको सन्देश प्रवाहका लागि प्रदेशस्तरीय सभा सफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष एवं मोर्चाको सचिवालयका सदस्यसचिव प्रमेश हमालको भनाइ छ । हमालका अनुसार मोर्चाको बैठक बसेर सन्देश सभाको समग्र समीक्षा गर्न बाँकी छ । गत ४ असारमा काठमाडौंमा घोषणा भएयता मोर्चाका तीनवटा बैठक बसेका छन् । अवधारणापत्रमा मोर्चाका चारै दलका शीर्ष नेताले हस्ताक्षर गरेका छन् । अवधारणापत्र र थप कार्यविधि सन्देश सभामा जानकारी गराउने काम भएको हमालले बताए । 

मोर्चाको नीति र उद्देश्यअनुसार नै सन्देश सभा भएको माओवादी महासचिव एवं मोर्चाको सचिवालय सदस्य देव गुरुङले बताए । घोषित नीति र उद्देश्य जनतासम्म पुर्‍याउन सन्देश सभा गरिएको उनले बताए । ‘कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुँदै छन् भन्ने नै मुख्य सन्देश हो । सन्देश सभाले सकारात्मक सन्देश प्रवाह गरेको छ,’ उनले भने ।

जसपा वरिष्ठ नेता एवं मोर्चाको सचिवालय सदस्य राजेन्द्र श्रेष्ठले नेपाली विशेषताको समाजवादी कार्यक्रमबारे सन्देश प्रवाह भएको बताए । ‘नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने सन्देश नै मुख्य कुरा हो । समाजवादका निम्ति हामीले तेस्रो शक्ति निर्माण गर्‍यौँ । जनतालाई सुसूचित गराउन सन्देश सभा भएको हो,’ उनले भने । मोर्चाको नेतृत्व चार–चार महिनामा आलोपालो गर्ने सहमति छ । सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संयोजक छन् । माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द पालैपालो संयोजक हुनेछन् । 

माओवादीका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सम्मिलित सचिवालयसमेत गठन गरिएको छ । सचिवालयका सदस्यसचिव एकीकृत समाजवादीका उपाध्यक्ष हमाल छन् । उनले नै मोर्चाको कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सदस्यसचिव पनि आलोपालो गर्ने सहमति छ ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि भन्दै मोर्चामा आबद्ध चार दलले १५ बुँदे प्रतिबद्धता पनि जनाएका छन् ।

राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं समाजवादी यात्रा सामान्य हिसाबले सम्पन्न नहुने बताउँछन् । पुँजीवादलाई राम्ररी नबुझी समाजवादमा पुग्न नसकिने उनको तर्क छ । समाजवादका लागि सबैभन्दा पहिला पुँजीवादलाई राम्ररी बुझ्नुपर्ने उनले औँल्याए । त्यसपछि मात्रै कुन–कुन कुरामा समाजवादमा जान सकिन्छ भन्ने निष्कर्र्ष निकाल्न सकिने उनको भनाइ छ । साउनमा सम्पन्न गर्ने भनिएको सभा भदौमा मात्रै सुरु भए । गत ८ भदौमा वीरगन्जबाट मोर्चाको प्रदेशस्तरीय सभा सुरु भएको थियो । सन्देश सभा उद्घाटन गर्दै शीर्ष नेताले सभाले काठमाडौं र सिंगो देशलाई सन्देश दिने घोषणा गरेका थिए । कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको सभामा पनि नेताहरूले पुरानै भाषण दोहोर्‍याए । दीर्घकालीन लक्ष्य, उद्देश्यभन्दा पनि तत्कालीन विषयमा नेताहरूले सम्बोधन गरे । यद्यपि, परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सभामार्फत सन्देश प्रवाह गरेको नेताहरूको दाबी छ ।

सत्तापक्ष र विप्लव नेतृत्वको विद्रोही शक्ति एक ठाउँमा आउनुलाई मोर्चाले उपलब्धि ठानेको छ । परिवर्तनकारी शक्ति एक ठाउँमा उभिएको र दीर्घकालीन रूपमा एउटै पार्टी बनाउने लक्ष्य रहेको नेताहरूले उद्घोष गरे । संविधानमै समाजवादउन्मुख व्यवस्था उल्लेख भएकाले अन्य दल पनि मोर्चामा आबद्ध हुने दाबी पनि नेताले गरेका छन् । संविधान कार्यान्वयनमा मोर्चा कोसेढुंगा साबित हुने नेताको दाबी छ । 

सन्देश सभामा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड सरकारको काममा केन्द्रित भएका छन् । त्यसो त मोर्चाका चारै शीर्ष नेताले सरकारको कामको प्रशंसा गरेका छन् । नेपाल, यादव र विप्लवले प्रचण्डको प्रधानमन्त्रीत्वमा भइरहेका भ्रष्टाचारविरोधी काम, सामाजिक न्यायका कामहरूको सूची बनाएर समाजवादी मोर्चा गाउँ–गाउँ जानुपर्ने औँल्याएका छन् । 

प्रचण्डले मोर्चामार्फत एउटै कम्युनिस्ट पार्टी बनाउने दिशामा अगाडि बढेको सन्देश दिन खाजे । ‘एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य छ, समाजवादी क्रान्ति एउटा पार्टीले गर्ने होइन, लाखौँ–करोडौँ जनताले गर्ने हो,’ प्रचण्डले भनेका छन्, ‘यसका लागि सबै कम्युनिस्ट एउटै पार्टी बन्न जरुरी छ ।’ हतारमा पार्टी एकता गर्दा दुर्घटना हुने खतरा देखिएकाले विचार, सिद्धान्त, रणनीतिमा बृहत् छलफलपछि यस्तो कदम चालिनुपर्ने उनको भनाइ छ । 

प्रचण्डको समर्थनमा बढी समय विप्लवले दिएका छन् । प्रचण्डसहित माधव नेपालले एमसिसीमा मध्यमार्गी लाइन लिएका छन् । नेपालले कम्युनिस्टहरूलाई एकताबद्ध गराउँदै जानुपर्नेमा जोड दिएका छन् । मोर्चामा आबद्ध दलले गरेका राम्रा काम जनताले थाहा पाउनुपर्नेमा नेपालले जोड दिएका छन् । ‘प्रचण्डको नेतृत्वमा सरकारबाट धेरै काम भएका छन्, ती कामको सूची तयार पारौँ । बुँदागत रूपमा तयार पारेको सूची लिएर मोर्चा तलैसम्म जाऊँ, यसले हाम्रा कामबारे जनतालाई थाहा हुनेछ,’ उनले भनेका छन् ।

विप्लवले दलाल पुँजीवाद र अमेरिकी नीतिको विरोध गरेका छन् । विप्लवले मुलुक संकटमा पुगेको भन्दै प्रचण्ड, माधव र उपेन्द्रलाई सरकारको मोर्चा सम्हाल्न आग्रह गरेका छन् । सडकको मोर्चा आफूहरूले सम्हाल्ने उनको दाबी छ । ‘जब मुलुक समस्यामा पर्छ, माओवादीहरू एक हुन्छन्, कम्युनिस्टहरू एक हुन्छन् । समाजवादीहरू एक हुन्छन् । यसमा सबैजना ढुक्क हुनुभए हुन्छ,’ विप्लवले भनेका छन् । उनी एमसिसीको कट्टर विरोधी हुन् ।

चारै दलका छुट्टाछुट्टै अभियान
७७ वटै जिल्लामा मोर्चाको संयन्त्र निर्माणमा लागेका दलहरू छुट्टाछुट्टै अभियानमा छन् । मोर्चाको अवधारणापत्रमा दलहरू आ–आफ्नो पार्टीको कार्यक्रम चलाउन स्वतन्त्र हुने उल्लेख छ । चार दलबीच संयुक्त अभियान चलाउने विषयमा पनि छलफल भएको छ । 

माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाएको छ । त्यसपछि विधान सम्मेलन गर्ने र विशेष महाधिवेशन गर्ने उसको तयारी छ । दोस्रो चरणमा अन्तर्पार्टी स्कुल, विषयगत अन्तक्र्रिया, तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, संघ–संस्थासँग अन्तक्र्रिया गरेको छ । एकीकृत समाजवादी, जसपा र नेकपाले पनि पार्टीगत कार्यक्रमलाई प्राथमिकता दिएका छन् । समाजवादी मोर्चा समान अवधारणामा गतिविधि गर्ने, मोर्चामा राखेका उद्देश्य प्राप्त गर्नका निम्ति साझा रूपमा गतिविधि गर्ने र पार्टीहरू आफ्ना गतिविधि गर्न स्वतन्त्र हुने एकीकृत समाजवादीका उपाध्यक्ष हमालले बताए । 

एकीकृत समाजवादीले असोजमा देशव्यापी राष्ट्रिय समाजवादी जागरण यात्रा सम्पन्न गरेको छ । जसपाले पनि संगठन विस्तार अभियानलाई जारी राखेको छ । नेकपाले पनि प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । 
 

ad
ad