१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format ११:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले फापरखेती नष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ। ढोरपाटन नगरपालिका– ४ खुंगा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापर बाली र तरकारी नष्ट गरिदिएको हो। 

वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे। उच्च पहाडी क्षेत्र रहेको हुँदा खुंगाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको उनको भनाइ छ।

उनका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्‍याएको छ। भर्खर दाना लाग्न लागेको फापर असिनाले झारिदिएपछि कृषक चिन्तित बनेका छन्। असिनाले तरकारीका बिरुवा ढलाइदिएको भन्दै फल लाग्न थालेका अन्य फलफूलमा पनि क्षति पुर्‍याएको बुढाथोकी बताए। 

उनले भने, ‘गाउँमा धेरैजसो किसानले फापरखेती गर्ने गर्छन्, उत्पादन पनि राम्रो हुने गर्थ्याे, तर असिनाले सबै सखाप बनाइदियो, तरकारी पनि केही बाँकी राखेको छैन, बारीभरि तोरी, तकारी र फापर सबै भुइँभरि ढलेको छ, कात्तिकमा भित्र्याउने फापर कामै नलाग्ने भएको छ, अलिअलि लागेका गेडा पनि भुइँभरि झरेका छन्, तोरी भर्खर उम्रिएको थियो, त्यो पनि काम नलाग्ने बनेको छ।’

हावाहुरीसहितको वर्षाले बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट र निसीखोलाको विभिन्न स्थानमा लगाइएको धानबालीमा पनि क्षति पुर्‍याएको छ । बागलुङ नगरपालिका– ३ खहरेमा पाक्न लागेको धानबाली ढलेर भुइँभरि भएको स्थानीय सरोज कार्कीले बताए। केही दिनअघि आएको हावाहुरीले केही ठाउँमा ढले पनि सोमबार साँझको पानीले ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश सिलवालले यो वेलाको वर्षाले धान, काेदो, भटमासलगायतका बालीमा क्षति पुर्‍याउने गरेको बताए। किसानले जिल्लाको विभिन्न स्थानबाट धान ढलेको गुनासो गरेको भन्दै क्षति भएको तथ्यांक लिएर राहतका लागि कृषि मन्त्रालयमा सिफारिस गर्ने जानकारी दिए। 

यो समय धानबाली भित्र्याउने भएको हुँदा किसानले मौसम हेरेर मात्रै धान काट्नुपर्ने प्रमुख सिलवालले बताए। यो याममा पानी मात्रै परे कुनै पनि बालीलाई क्षति नगर्ने जनाउँदै हावाहुरी र असिना परे खाद्यबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याउने उनको भनाइ छ। रासस