
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीकोे आयोजनामा आइतबारदेखि भैरहवामा दसैँ सस्तो बजार सुरु भएको छ । उद्योग वाणिज्य संघकै परिसरमा सुरु भएको सस्तो बजारमा मुस्ताडको आलु, स्याउ, मार्फादेखि दैनिक उपभोग्यका सामानहरू उपलब्ध रहेको छ ।
विभिन्न २५ वटा स्टलहरू रहेको दसैँ सस्तो बजारको आइतबार एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोशकुमार पाण्डेयले उद्घाटन गरे । करिब १५ हजारको संख्यामा उपभोक्ता तथा अवलोकनकर्ताको आवागमन हुने र ५० देखि ६० लाख रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
सस्तो बजारले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरूको उपभोगप्रति उपभोक्तालाई सचेतना गराउने तथा आउँदै गरेको नेपालीको महान् चाडपर्वमा आमउपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानी विकास गराउने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए । विभिन्न उद्योगी–व्यवसायीसँगको सहकार्यमा उपभोक्तालाई सुलभ रूपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री–वितरण गर्ने, स्थानीय खाद्यपदार्थको प्रवद्र्धन तथा उचित मूल्यबारे जानकारी गराउने उद्देश्यले यसपटकको दसैँ बजार सञ्चालन गर्न लागिएको सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र आर्चायले बताए ।
कात्तिक ३ गतेसम्म ६ दिन चल्ने यो सस्तो बजारले केही हदसम्म भए पनि भैरहवा बजार चलायमान हुने, स्वदेशी उद्योग–व्यवसायको उत्पादनको प्रचार–प्रसार हुने र आमउपभोक्ताले सर्वसुलभ रूपमा उपभोग्य वस्तुहरू खरिद गर्ने अवसर प्राप्त गर्ने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए ।