
यसपालिको बर्खामा तीन वर्षयताकै कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघिका दुई बर्खामा औसत र औसतभन्दा धेरै पानी परेकामा यसपटक भने कम पानी परेको हो । नेपाली आकाशमा एक सय २४ दिन कायम रहेको दक्षिण एसियाली मनसुनले एक हजार तीन सय तीन मिलिमिटर अर्थात् औसत वर्षाको ८८.५ प्रतिशत मात्र पानी परेको छ । यसपटक प्रशान्त महासागरमा एलिनोको प्रभाव देखिँदा नेपालमा औसतभन्दा कम वर्षा भएको हो ।जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलले ढिलो गरी मनसुन भित्रिएकामा निकै ढिलो गरी मनसुन सक्रिय हुँदा यसपटक औसतभन्दा कम वर्षा भएको बताइन् ।
गत वर्ष मनसुनी अवधिमा औसत हाराहारी एक हजार तीन सय ३५.२ मिलिमिटर पानी परेको थियो । त्यसभन्दा अघिल्लो वर्षमा भने एक हजार ६ सय २० मिलिमिटर वर्षा भएको थियो । नेपालमा वार्षिक वर्षाको ८०.५ प्रतिशत अर्थात् एक हजार चार सय ७२.४ मिलिमिटर वर्षा मनसुनी अवधिमा हुन्छ । यस वर्षको मनुसन दुई साता ढिलो गरी बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिलो गरी आइतबार बाहिरिएको हो ।
सामान्यतया मनसुन २ अक्टोबरमा बाहिरिनुपर्नेमा १५ अक्टोबरमा मात्रै बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको मनसुन एक सय २४ दिन नेपालमा रहेको छ । गत वर्ष मनसुन नेपाली आकाशमा एक सय ३४ दिन रहेको थियो ।
मनसुन बाहिरिएसँगै आइतबार रातिबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गरेको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबारदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी भेगमा हल्का हिमपातको आकलन गरिएको छ । ‘पश्चिम नेपालमा बादल लाग्न सुरु भइसकेको छ, असरको स्वरूप भोलि त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ,’ मौसमविद् विनु महर्जनले भनिन्, ‘ठूलो वर्षाको सम्भावना नरहे पनि हल्का तथा मध्यम वर्षाले पनि असर गर्ने भएकाले दुई दिन धान नकाट्दा राम्रो हुन्छ ।’ पश्चिमी वायुको असरको स्वरूप सोमबार गण्डकी र बाँकी प्रदेशका केही क्षेत्रमा बादल लाग्ने सम्भावना छ ।