१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीनवटा चार्टर उडानमार्फत भियतनामी नेपाल आउँदै

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२७:oo

नेपाली पर्यटनको इतिहासमै पहिलोपटक तीनवटा चार्टर उडानमार्फत ठूलो संख्यामा भियतनामी पर्यटक भ्रमणमा आउने भएका छन् । हिमालय एयरलाइन्सको एयरबस–३२० विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउन लागेका हुन् ।अहिलेसम्म २१ अक्टोबर, २५ अक्टोबर र २९ अक्टोबरमा हुने हिमालयको चार्टर जहाजमार्फत दुई सयभन्दा बढी भियतनामी आउने निश्चित भइसकेको भ्रमणको व्यवस्थापक कम्पनी रुप्से होलिडेजले जनाएको छ ।

सोही चार्टर उडानबाट करिब तीन सय नेपाली भियतनाम भ्रमणमा जाने निश्चित भएको कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । रुप्से होलिडेजले एक लाख २० हजार रुपैयाँमा चार रात पाँच दिनको भियतनाम भ्रमण प्याकेज ल्याएको छ । यस्तै, नेपाल भ्रमणमा आउने भियतनामीहरूका लागि चार रात पाँच दिनको प्याकेज सात सय ९९ अमेरिकी डलर र आठ रात नौ दिनको प्याकेज नौ सय ९९ अमेरिकी डलरमा बिक्री गरेको उनले जानकारी दिए ।

भियतनामबाट काठमाडौं, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय स्थान भ्रमण गर्ने गरी उच्चवर्गीय पर्यटक आउन लागेको रुप्सेले जनाएको छ । नेपाली ट्राभल एजेन्सीको अगुवाइमा नेपाली पर्यटन इतिहासमै एकैपटक तीनवटा जहाज चार्टर गरेर पर्यटक आदान–प्रदान हुन लागेको सम्भवतः पहिलोपटक भएको कम्पनीको भनाइ छ । 

करिब १५ प्रतिशत बुद्ध धर्मावलम्बीहरू रहेको भियतनामबाट पछिल्ला दिनहरूमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढिरहेको समयमा यात्रालाई सहजता तुल्याउन चार्टर उडान अद्वितीय भएको पर्यटन व्यवसायीको भनाइ छ । भियतनामबाट काठमाडौं ओर्लिएका पर्यटकले काठमाडौं उपत्यकाका अलावा बुद्धको जन्मस्थान लुम्बिनी र पोखरा भ्रमण गर्ने बताइएको छ । केही पर्यटक नेपालका विभिन्न बौद्ध, चैत्य तथा गुम्बामा ध्यान तथा योगाभ्यासका लागि थप समय बस्ने रुप्सेले जनाएको छ ।

नेपाल–भियतनाम चार्टर उडान भइरहँदा ठूलो संख्यामा नेपाली पर्यटक भियतनाम जाने भएका छन् । उडानका क्रममा एकतर्फी रूपमा खाली रहने सिट बिक्री गरेर पर्यटकका लागि चार्टर उडान आर्थिक रूपमा किफायती बनाउन खोजेको रुप्से होलिडेजले जनाएको छ । नेपालीलाई भियतनामको हनोईमा बसाइ, विभिन्न आकर्षक गन्तव्यहरूको घुमाइ, एकदिने क्रुजलगायत सेवा–सुविधा उपलब्ध गराउने बताइएको छ । 

‘तीनवटै उडानबाट नेपालीहरू भियतनाम भ्रमणमा जानेछन्, भियतनामी नेपाल भ्रमणमा आउनेछन्,’ रुप्से होलिडेजका पराजुलीले भने, ‘सीधा उडान, उत्कृष्ट आतिथ्यता र आकर्षक गन्तव्य भ्रमणको अवसरमा दुवै देशका नागरिकले अझै सदुपयोग गर्न सक्नुहुनेछ ।’

यसअघि १ वैशाख ०८० मा चीनबाट चार्टर उडानमार्फत एक सय ८० चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोभिडपछि पहिलोपटक ठूलो संख्यामा भित्रिएका चिनियाँ पर्यटकलाई पर्यटनमन्त्री सुदन किराँतीको उपस्थितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा–मालासहित पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो । भदौ पहिलो साता बंगलादेशबाट जहाज चार्टर गरी करिब सात सयजना बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । उनीहरूलाई पनि पञ्चेबजा बजाएर त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो । 

ad
ad