१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दिनभर दौडधुप : शेखरलाई फकाउन राष्ट्रपति पनि सक्रिय

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:२५:oo

कोशीमा विकसित राजनीतिक घटनाक्रम आफूअनुकूल बनाउन मुख्यमन्त्री दाबी गर्ने दुवै पक्ष शुक्रबार दिनभर दौडधुपमा व्यस्त रहे । कांग्रेस नेता डा. शेखर कोइरालालाई फकाउन काठमाडौंमा दिनभर कोसिस भए । कोइरालालाई फकाउन कांग्रेस संस्थापन पक्ष, गठबन्धनका नेता मात्र होइन राष्ट्रपति आफैँ पनि सक्रिय देखिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले समेत डा. कोइरालालाई टेलिफोन सम्पर्क गरी नाम फिर्ता लिन आग्रह गरेका थिए । कोइरालानिकट स्रोतका अनुसार राष्ट्रपति पौडेलले ‘गठबन्धनमा अप्ठ्यारो पार्ने काम नगर्नुस्, नाम फिर्ता लिनुस्’ भन्दै आग्रह गरेका थिए । तर, जवाफमा कोइरालाले ‘आफू कुनै पनि हालतमा पछाडि नहट्ने’ सन्देश दिएका थिए । ‘कुनै पनि हालतमा नाम फिर्ता हुँदैन । तपाईंहरू मलाई भित्तामा पुर्‍याउने प्रयास नगर्नुस्, राष्ट्रप्रमुख भएर राजनीतिमा चासो नदेखाउनुहोस्,’ राष्ट्रपतिसँगको संवादबारे कोइरालाले आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यसँग भनेका छन् । 

पार्टी बैठकमा दबाब हुन सक्ने देखिएपछि कोइराला आफैँ केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अनुपस्थित रहे । बैठकअगाडि बालुवाटार पुगेर कोइरालासहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्ण सिटौला र मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कोशीको घटनाक्रमबारे छलफल गरेका थिए ।

कार्कीको नाम फिर्ता लिएर गठबन्धनको पक्षमा उभिन नेताहरूले गरेको आग्रह कोइरालाले अस्वीकार गरेका थिए । स्रोतका अनुसार बैठकमा कोइरालाले कार्कीलाई समर्थन गरेर जानुको विकल्प नरहेको बताएका थिए । ‘यत्रो हस्ताक्षर गरेर बुझाइसकिएको छ । म ब्याक हुन्नँ, मलाई नौटंकी गर्न आउँदैन । तपार्इंहरू केदारलाई समर्थन गर्नुस्, बरु सरकार गठन के–कसरी गर्ने, छलफल गरौँला,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने । 

शुक्रबार दिँउसो ३ बजे बोलाइएको कांग्रेस बैठक बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलका कारण झन्डै दुई घन्टा ढिलो गरी बसेको थियो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा कांग्रेसभित्रको समस्या समाधान गरेर आए माओवादीले कांग्रेसले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न सकिने बताएका थिए । तर, त्यसका लागि एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका कार्कीको नाम फिर्ता लिनुपर्ने सर्त प्रधानमन्त्रीको थियो । 

प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई डा. कोइरालाले अस्वीकार गरेको कांग्रेस बैठकमा पदाधिकारीले ब्रिफिङ गरेका थिए । ‘प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई मुख्यमन्त्री दिन तयार छौँ । इन्द्र आङ्बोलाई दाबी फिर्ता लिन लगाउँछु, तपाईंले नाम दिनुहोस् भन्नुभयो । तर, उहाँले नाम दिनुभएन,’ विश्वकर्माले बैठकमा भएको ब्रिफिङबारे भने ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्ने समयसीमा शुक्रबार ५ बजेसम्म तोकेका थिए । तर, कांग्रेस बैठककै बीचमा मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखले दिएको समयावधि सकिएको थियो । यसबीचमा प्रदेश प्रमुखबाट शनिबार सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय आयो । त्यसपछि कांग्रेस बैठक विनानिष्कर्ष टुंगियो । 

कोइराला अनुपस्थित हुँदा ठोस निष्कर्षमा पुग्न नसकेको भन्दै शनिबार थप छलफल गरेर टुंगोमा पुग्ने प्रयास गर्ने कार्यसम्पादन बैठकको निर्णय आयो । बैठकपछि प्रचार विभाग प्रमुख विश्वकर्माले कार्यसम्पादन समिति बैठक विनानिष्कर्ष टुंगिएको, तर पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन र गठबन्धन जोगाउने गरी निकास दिने विषयमा छलफल भएको बताए । 

‘बैठकमा आउँछु–आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो । शनिबार बिहान फेरि बैठक बस्छ, उहाँ बैठकमा आउनुहुन्छ, अनि छलफल गरेर टुंगोमा पुर्‍याउँछौँ,’ परियारले भने, ‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । असन्तुष्टि छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने लागेको छ ।’ तर, कोइरालानिकट स्रोतका अनुसार उनी आफ्नो अडानबाट पछि नहट्ने पक्षमा छन् । ‘उहाँले विद्रोहको बाटो लिइसकेकाले कुनै पनि हालतमा ब्याक नहुने बताउनुभएको छ । उहाँ जुनसुकै हालतमा कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा हुनुहुन्छ,’ उनीनिकट एक केन्द्रीय सदस्यले भने ।

शुक्रबार बिहान कांग्रेस कोशी प्रदेश समितिको कार्यसम्पादन समितिको बैठक बसेर आठ विद्रोही सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको थियो । प्रदेश महामन्त्री उमेश थापाका अनुसार हस्ताक्षर फिर्ता नलिए अनुशासनको कारबाही हुनेछ । 

ad
ad