
गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गरे। थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन्।
गत वर्ष १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाखमा ठेक्कामा दिएको बताए। राजेन्द्र र भूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपालि स्याउखेतीबाट आम्दानी घटेकामा निराश भएका छन्।
यसपालि स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताए। मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ।
पचास करोड मूल्यबराबरको चार हजार ६ सय २० मेट्रिकटन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका सहरमा निकासी भएको उनले जानकारी दिए। बचैँचामा प्रतिकिलो रु. एक सयदेखि रु. एक सय २० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताए।
किसान भूपेन्द्रका अनुसार मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको छ । स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको हो।
किसान बलबहादुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेकाे बताए। धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको बताए।