
अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन्। उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँअगाडि नै भुक्तानी हुने बताए।
शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा रु. ६० देखि ७० अर्ब तिरिसकेका छौँ। अब रु. ६ देखि सात अर्बजति बाँकी होला, त्यो भुक्तानी हुन्छ।’
अर्थमन्त्री डा. महतले बाहिर आएजस्तो आर्थिक संकट चरम नभएको जिकिर गरे। केही हदसम्म समस्या भए पनि बाहिर देखिएजस्तो आर्थिक संकट नभएको उनको भनाइ थियो।
पहिला राष्ट्र बैंकले सहज रूपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतले बताए। ‘सहज रूपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ, कहाँ आउँदैन नहेरी लगानी भयो। त्यसको असर अहिले देखियो,’ उनले थपे, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन। जसका कारण केही व्यवसायीलाई समस्या परेको छ।’
सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागिपरेको उनको भनाइ थियो। अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको मन्त्री महतले बताए।