१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १२:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ, १६ महिनामा १० प्रतिशत मात्र काम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:३७:oo

अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ। सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी ०७९ जेठ २० गते सम्झौता भएकोमा १६ महिना बितिसक्दा पनि १० प्रतिशत मात्रै काम भएको छ।

सम्झौताअनुसार आगामी ०८० चैत १९ गतेसम्ममा काम पूरा गर्नुपर्नेमा मात्र सात महिना बाँकी छ। उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा डिबिएम र आस्फाल्ट गरी दुई चरणको कालोपत्र गर्न लागिएको छ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो।

कार्यालयका इन्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा पटकपटक पत्र काटेर ढिलाइ हुनुका कारण सोधेको बताए। उक्त चार किलोमिटर सडकखण्ड विस्तार एवं स्तरोन्नतिका लागि ३० करोड ७८ लाख ७२ हजार तीन सय ८० रुपैयाँ अनुमान गरेकोमा व्यवसायीसँग भ्याटसहित २० करोड १९ लाख ४३ हजार पाँच सय एक रुपैयाँमा सम्झौता गरिएको थियो।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रूख काट्नुपर्ने र सडकमा पर्ने विद्युतको खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको बताइएको छ। कार्यालयबाट पटकपटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको देवकोटाको भनाइ छ।

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत–सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो। तैपनि आलटाल गरेपछि जिल्ला समन्वय समितिको समन्वयमा पुनः सर्वपक्षीय बैठक बोलाएर यथाशीघ्र काम सुरु गर्न अनुरोध गरेका थिए।

काम नगरेको र सडक अलपत्र पारेको भन्दै केही समयअघि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ठेकेदारको लापरबाहीले सडक यात्रुको स्वास्थ्यमा खेलबाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कैयौँको अंगभंग भएको भन्दै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरीसमेत दिएका थिए।

पछिल्लो समय बर्सातका कारण ठाउँ–ठाउँमा पहिरो खसेको छ। सडकमाथिबाट पहिरो खसेकाले बाटो पानी पर्दा हिलाम्मे भएको छ भने घामलाग्दा धुलाम्मे हुने गरेको छ। सो बाटो भएर जाने यात्रुहरूले दसैँको समयमा पनि सास्ती खेप्नुपर्ने भएको छ।

धुलिखेल–खावा सडकबारे संसदमा बास्कोटाले गरे व्यंग्य
संघीय सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले सो सडकबारे संसदमा व्यंग्य नै हानेका छन्। अरनिको राजमार्गको नाम परिवर्तन गरेर ‘सग्ला मान्छे कच्याककुचुक अन्तर्राष्ट्रिय राजमार्ग’ राख्न भन्दै व्यंग्य गरेका हुन्।

संसद्को शून्य समयमा बोल्दै सांसद बास्कोटाले राजमार्ग मर्मतको कार्य लामो समयसम्म पनि नसकिएको भन्दै असन्तुष्टि पोखेका हुन्। उनले भने, ‘यो बाटोले चार सय १२ जनाको हातखुट्टा भाँचेको छ। दसैँको मुखमा कतिको भाँचिने हो ? हस्पिटल खोल्छ कि निःशुल्क उपचार गर्छ ? यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् वा म अनशन बस्नुपर्ने हो ?’

ad
ad