१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँअघि नै आफ्नै टिएमएस चलाउन ब्रोकरहरू तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:३४:oo

३४ ब्रोकर कम्पनी आफ्नै टिएमएस चलाउन तयार भएका छन् । दसैँअघि नै आफ्नै टिएमएस चलाउन अहिले आन्तरिक परीक्षणलाई तीव्रता दिइएको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । उनले भने, ‘हाम्रोतर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ, नेप्सेबाट केही प्राविधिक सिस्टम मात्र मिलान गर्नुपर्नेछ, दसैँअघि हामी एक्टिभ गर्छौँ ।’

३३ ब्रोकरहरूले श्रीलंकाको ‘आइरन’ कम्पनीको र एक ब्रोकर कम्पनीले भारतीय ‘डिएन ग्लोबल सोलुसन’ कम्पनीको टिएमएस प्रयोग गर्ने विवरण आएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए । टिएमएस चलाउन ३४ ब्रोकर कम्पनी सम्पूर्ण रूपले तयारी अवस्थामा रहेको ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए । उनले भने, ‘हामीले पूर्वाधार निर्माणदेखि प्राविधिक काम पनि अन्तिम चरणमा पुर्‍याएका छौँ, निरीक्षणपछि एपिआई पाउन बाँकी रहेको छ ।’ एपिआई नेप्से र ब्रोकर कारोबारसँग जोडिने वा कनेक्ट गर्ने काम हो । 

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ कार्यान्वयनमा आएसँगै ब्रोकरले आफ्नो इच्छाअनुसारको टिएमएस चलाउन पाउने भएका हुन् । गत वैशाखमा नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा टिएमएस विकासकर्ता कम्पनीसँग पाँच वर्षको कार्य अनुभव भएको, विगत तीन वर्षयता लगातार वार्षिक औसतमा सात करोड रुपैयाँको कारोबार गरेको कम्पनी हुनुपर्ने उल्लेख छ ।

भारतीय कम्पनीको टिएमएस चलाउन इच्छुक एक मात्र ब्रोकर कम्पनी भने नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ हो । ब्रोकर कम्पनीहरूले छनोट गरेका कम्पनीको टिएमएसका बारेमा छुट्टै प्रस्तुतिसमेत दिनुपर्ने जानकारी नेप्सेले दिएको छ । नेप्सेले ती कम्पनीबारे जाँचबुझ गरी उपयुक्त देखेमा मात्र स्वीकृति दिने तयारी रहेको छ ।

३३ ब्रोकर कम्पनीले रोजेको श्रीलंकन आइरन वान कम्पनी स्टक बजारसँग सम्बन्धित सफ्टवेयर उत्पादन गर्ने कम्पनी रहेको बताइएको छ । श्रीलंकाको कोलम्बोमा मुख्य कार्यालय रहेको यस कम्पनीले अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो शाखा विस्तार गरेको ब्रोकरहरू बताउँछन् ।

हाल नेप्सेको अनलाइन कारोबार प्रणालीमा ३५ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन् । कारोबार प्रणालीलाई सहज बनाउन नेप्सेले स्वेच्छिक रूपमा टिएमएस चलाउन सकिने व्यवस्था लागू गरेको हो । हाल नेप्सेले वाइको कम्पनीले बनाएको टिएमएस सञ्चालन गरिरहेको छ । नेप्सेको टिएमएसमा विभिन्न समस्या आएको भन्दै ब्रोकर कम्पनीले आफ्नै टिएमएस चलाउन माग गर्दै आएका थिए । नेप्सेले ०७५ कात्तिक २० गतेदेखि नेपालको धितोपत्र दोस्रो बजारलाई पूर्ण अनलाइन प्रविधिमैत्री बनाउँदै आएको हो ।

ब्रोकरहरूले अघिल्लो साता नै टिएमएसको परीक्षण सुरु गर्ने तयारी गरेका भए पनि नेप्सेले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) लागू गरेकाले उक्त सिस्टममा आबद्ध भएर मात्रै परीक्षण सुरु गर्न लाग्दा यसमा केही दिन ढिलाइ भएको मैनालीको भनाइ छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले ब्रोकरहरूलाई टिएमएस ल्याउन नेप्सेले स्वीकृति दिइसकेको बताए । उनले भने, ‘हामीबाट कुनै समस्या छैन उहाँहरूले आफ्नै टिएमएस सञ्चालन गर्न बाटो खुलेको छ ।’

  नयाँ ब्रोकरले के गर्लान् ?
धितोपत्र बोर्डबाट भर्खरै लाइसेन्स पाएर सञ्चालनमा आएका १७ नयाँ ब्रोकर कम्पनीले तत्काल नयाँ टिएमएस नल्याउने बताएका छन् । न्यु ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले तत्काल टिएमएस ल्याउन तयारी नभएको बताए । उनले भने,‘हामी भर्खरै मात्र आएका छौँ, यसबारेमा आन्तरिक छलफल गरेर अघि बढ्छौँ ।’

ad
ad