
विशेष अदालतले सुनायो ६ महिना कैद र ७० हजार जरिवानाको फैसला
विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै सजाय सुनाएको छ । शुक्रबार बसेको इजलासले उनीसहित इन्जिनियर रामचन्द्र साहलाई कैद तथा जरिवानाको फैसला गरेको हो ।
विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार उनीहरूलाई जनही ६–६ महिना कैद र ७०–७० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला भएको हो ।
१७ फागुन ०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर गुप्ता र इन्जिनियर साहलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो । उनीहरू दुवैले मिलेमतोमा सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको दाबी अभियोगपत्रमा थियो । साहलाई आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले ३ माघ ०७९ मा घुस रकमसहित नियन्त्रणमा लिएको थियो । विद्यालयको सभाहल निर्माणका क्रममा अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग उक्त रकम इन्जिनियर साहले घुस मागेका थिए ।
काठमाडौंका पूर्ववडासदस्यलाई नौ महिना कैद र दुई लाख जरिवाना हुने
काठमाडौं महानगरपालिका– १४ का पूर्वसदस्य वसन्त महर्जन पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । मुद्दा दायर भएको डेढ वर्षपछि उनलाई विशेष अदालतले कैद र जरिवाना हुने सजाय सुनाएको छ । विशेषका न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो ।
विशेषका अनुसार वडाध्यक्ष महर्जनलाई नौ महिना कैद तोकिएको छ । यसैगरी, दुई लाख रुपैयाँ जरिवाना हुने भएको उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि २० माघ ०७८ मा मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो । वडासदस्य महर्जन २१ भदौ ०७८ मा दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
अख्तियारको टोलीले उनलाई कलंकीको खसीबजारस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो । एमालेबाट निर्वाचित वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मापलोत कार्यालयलाई सिफारिस गर्नका लागि सेवाग्राहीसँग रकम माग गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । यस विषयमा अनुसन्धान गरी मुद्दा दायर भएको थियो ।
पोखराका सबइन्जिनियरलाई १० दिन कैद सजाय
विशेष अदालतले पोखरा महानगरपालिकाका सबइन्जिनियर प्रवीण विकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ । मुद्दा दायर भएको ६ महिना नपुग्दै विशेषले कसुर कायम हुने फैसला गरेको हो ।
विक पोखरा महानगर वडा नम्बर २८ मा सबइन्जिनियरका रूपमा कार्यरत हुँदा जग्गाको छेउबाट बाटो निकालिदिने प्रयोजनका लागि घुस लिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो । यसमा फैसला गर्दै विशेषले उनलाई १० दिन कैद तथा १५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको शुक्रबारको इजलासले यस्तो फैसला गरेको हो ।
सबइन्जिनियर विकले घुस मागिरहेको सूचना प्राप्त भएपछि अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई १५ हजार घुससहित गत ३ चैतमा नियन्त्रणमा लिएको थियो । अख्तियारले यसै वर्ष २५ वैशाखमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो ।