१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १२ शुक्रबार १८:१८:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १२ शुक्रबार १८:१८:००

चर्चित अमेरिकन रेस्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको भिआइपी व्यापारिक क्षेत्रका रूपमा परिचित दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो ।

गुल्मेली दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेस्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन् । गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा रेस्टुरेन्ट छ, जहाँबाट दरबारमार्गका गतिविधिसमेत नियाल्न सकिन्छ।

केन्नी रोजर्सको स्ट्यान्डर्डमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन करिब तीन करोड रुपैयाँ लगानी भएको सञ्चालक थापाले बताए । रेस्टुरेन्ट दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७० जनासम्मले सेवा पाउन सक्छन् ।

‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेस्टुरेन्टमा पुग्ने ग्राहकले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महसुस गर्न सक्नेछन् । वुडन थिमले रेस्टुरेन्टलाई थप आकर्षक बनाएको छ ।

चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन (केएफसी)का पूर्वसिइओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाई ब्राउन (जुनियर)ले सन् सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । जुन कालान्तरमा संसारभर फैलिएको छ । अहिले केन्नी रोजर्स रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आक्रामक रूपमा आउटलेट विस्तार गरिरहेको छ ।

केन्नी रोजर्स रोस्टर्स नेपालमा पहिलोपटक भित्रिएको हो । ‘विदेशमा ठूला जहाजमा  म्यानेजरको काम गर्दा केन्नी रोजर्स रेस्टुरेन्टमा खाना खाइन्थ्यो, यो रेस्टुरेन्टले फरक स्वादमा स्वस्थ्य परिकारहरू पस्कने थाहा पाइयो,’ रेस्टुरेन्टका अर्का सञ्चालक महतराले भने, ‘नेपालमा स्वादिला परिकार खोज्दै रेस्टुरेन्ट धाउनेहरू बढ्दै छन्, त्यसैले हामीले नयाँ स्वाद पस्किन अमेरिकी ब्रान्डलाई नेपाल भित्र्याएका हौँ ।’

केन्नी रोजर्स रोस्टर्सको मुख्य डिस भनेकै चिकेनका आइटम हुन् । रेस्टुरेन्टमा चिकनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको महतराले बताए । रेस्टुरेन्टका मुख्य परिकारहरूमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकन, पिज्जा स्वादको स्यान्डविच, फिस बर्गरलगायत रहेका छन् । उनले भने, ‘केन्नी रोजर्स रोस्टर्समा आउने भनेकै चिकेनका परिकार खानलाई हो।’ यो रेस्टुरेन्टमा रोस्टेड होल चिकेनमा अन्य साइड डिसहरू थपेर आउने  ग्रुप तथा फेमिली सेट पनि पाइन्छ।

परिवारसँग आउने बच्चाहरूलाई चिकेन ललिपप, चिकेन विङ्स, मफिन्स, मिनी बर्गरलगायत परिकार पाक्छन् । रेस्टुरेन्टमा पाहुनाले पारिवारिक वातावरणमा स्वादिला परिकारसँग रमाउन पाउने सञ्चालक थापाको भनाइ छ। परिवारसहित रेस्टुरेन्टमा खान आउने उपभोक्तालाई केन्नी रोजर्स रोस्टर्स सबैभन्दा उपयुक्त रहेको उनको दाबी छ ।

केन्नी रोजर्स रोस्टर्सले पहिलोपटक काठमाडौंको आउटलेटमा अल्कोहलिक पदार्थहरू बिक्री गर्न अनुमति दिएको छ । विश्वका अन्य सहरमा खुलेका आउटलेटले  कडा अल्कोहल (हार्डड्रिंक्स) सर्भ नगर्ने सञ्चालक महतराले जानकारी दिए ।

सञ्चालक महतरासँग पाँच वर्ष विश्वकै चर्चित ताज मुम्बईमा सेफको काम गरेको अनुभव छ । उनले दशकभन्दा बढी समय मलेसिया, इन्डोनेसिया, सिंगापुर, म्यानमार, भियतनाम, थाइल्यान्डलगायत देशमा बसेर अन्तर्राष्ट्रिय परिवहन गर्ने ठूला जहाजमा मुख्य सेफ भएर अनुभव हासिल गरेका छन् ।

‘करिब २० वर्ष विदेशमा हासिल गरेको सीप र अनुभवलाई प्रयोग गरी देशमै केही गरौँ भन्ने मनसायले स्वदेश फर्किएको हुँ,’ महतराले भने, ‘आफ्नो अनुभव फुड एन्ड वेभरेजमा थियो, त्यसैले अमेरिकी चेन रेस्टुरेन्ट केन्नी रोजर्स रोस्टर्ससँग फ्रेञ्चाइजी मोडलमा काठमाडौंमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौँ ।’ केन्नी रोजर्स रोस्टर्सले पस्किने स्वाद नेपालीले रुचाउने ठानेर नेपालमा ल्याएको उनको भनाइ छ । दरबारमार्गमा पाक्ने र अमेरिका वा थाइल्यान्डको आउटलेटमा पाक्ने परिकारको गुणस्तर र स्वाद एउटै हुनेछ ।

‘हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौँ, स्वस्थ र स्वादिला परिकार पस्कनेछौँ,’ महतराले भने, ‘हाम्रा ग्राहकलाई पारिवारिक वातावरणमा सेवा दिने प्रतिबद्धता जनाउँछौँ ।’

‘दरबार मल’ पछिल्लो समयको सबैभन्दा सुविधासम्पन्न सपिङ गन्तव्य हो । दरबार मलमा पाँचतारेस्तरको सिनेमा हल छ । सपिङ गर्न, सिनेमा हेर्न र रेस्टुरेन्टमा खानका लागि सहरीया उच्चवर्गको जमघट हुने दरबार मलमा पर्याप्त पार्किङ सुविधासमेत रहेको छ ।