
झापाको दमकमा एकजना व्यक्तिको छुरा प्रहार गरेर हत्या भएको छ । दमक– १ स्थित कुमालचोकमा शुक्रबार बिहान इलाम चुलाचुली– ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्या भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दमक– ७ का २५ वर्षीय सनम राईले उनीमाथि छुरी प्रहार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । छुरा प्रहारबाट लिम्बूको घाँटी, पाखुरामा चोट लागेको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि लाइफलाइन अस्पताल पुर्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार मृतक लिम्बूसहित केही व्यक्ति एक होटेलमा बसेर मादक पदार्थ सेवन गर्दै थिए । सोही क्रममा पिसाब फेर्ने निहुँमा झगडा हुँदा लिम्बूमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ । सँगै बसेका केहीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सनमसहित केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।