Skip This
आजबाट एमाले बागमती अधिवेशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Saturday, 27 July, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८o असोज ८ सोमबार o८:४३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आजबाट एमाले बागमती अधिवेशन

अध्यक्षमा चार आकांक्षीमध्ये दुई मुख्य प्रतिस्पर्धी, पाण्डे, बाँस्कोटा र बस्नेतको भूमिका निर्णायक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o८:४३:oo

लुम्बिनीपछि एमालेको बागमती प्रदेशमा पनि नेतृत्वका लागि निर्वाचन हुने देखिएको छ । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच अघोषित प्रतिस्पर्धा भएजस्तै बागमतीमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र गोकुल बाँस्कोटा निर्णायक भूमिकामा छन् ।

बागमती प्रदेशको आइतबारबाट सुरु हुने प्रथम अधिवेशनमा चारजना अध्यक्षका आकांक्षी छन् । तर, अधिवेशन सुरु हुने दिनसम्म सहमतिको विकल्पसहितको ठोस प्रस्ताव नबढेपछि चार आकांक्षीमध्ये दुईजना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धाको सम्भावना छ । 

एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म ३० जनाभन्दा बढीले आकांक्षा राखेका छन् । अध्यक्षमा सर्वसम्मत नहुँदा उपाध्यक्षसहितका पदहरूमा अन्तिमसम्म कम्तीमा डेढ दर्जन उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुने बागमतीका एमाले अगुवा नेताहरूको बुझाइ छ ।

अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले नेतृत्वका लागि दाबी गर्दै अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहित नेता र प्रतिनिधिसँग लबिङ गरिरहेका छन् । तर, श्रेष्ठ, पौडेल, पाण्डे र पोखरेलले औपचारिक रूपमा कसैको नाममा सर्वसम्मतको संकेत नदिएपछि अन्तिममा चार आकांक्षीमध्ये दाहाल र ढुंगेलबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको हो । 

ढुंगेलले सर्वसम्मतिका लागि प्रयास भइरहे पनि चुनावी प्रतिस्पर्धा हुँदा पनि उम्मेदवारी मनोनयन गर्ने मानसिकताका साथ तयारी अवस्थामा रहेको बताए । अध्यक्षका अर्का दाबेदार दाहालले प्रतिनिधिको विश्वास जितेर नेतृत्व लिन चाहेको बताउँदै आएका छन् । सर्वसम्मतिका लागि कोसिस हुने कुरा राम्रो भए पनि नेतृत्व छनोटमा पार्टीको मूल नेतृत्व र पदाधिकारी कसैले पनि कार्यकर्ताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्न नहुने भन्दै उनले लबिङ गरिरहेका छन् । 

अहिलेका अध्यक्ष पाण्डे र बागमती प्रदेशका पूर्वसभामुख श्रेष्ठ भने नेतृत्वले सर्वसम्मत अगाडि सारे वा चुनावी प्रतिस्पर्धाको मनस्थिति बनाउन निर्देशन दिए मात्रै उम्मेदवार उठ्ने तयारीमा छन् । स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेतृत्वका लागि सर्वसम्मति जुटिनसके पनि अझै आशा राखेर प्रयास गरिने बताए । तर, सहमति नभएमा भने निर्वाचनबाटै नेतृत्व चयन हुने उनले प्रस्ट्याए । 

अधिवेशनमा एक हजार एक सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्दै छन् ।  महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये एक हजार २८ जना प्रतिनिधि छनोट भइसकेका छन् । चुनावको सम्भावना बढेपछि मनोनीत गर्नुपर्ने पाँच प्रतिशत प्रतिनिधि अझै टुंगो लागेको छैन । 

बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र गोकुल बाँस्कोटाको भूमिका निर्णायक भएकाले अध्यक्ष र पदाधिकारीका आकांक्षी निरन्तर उनीहरूको सम्पर्क र परामर्शमा छन् । एक दशकभन्दा बढी समय बागमती र उपत्यका इन्चार्ज रहेका पाण्डेको एकल प्रभावमा कम्तीमा दुई सय ५० सम्म प्रतिनिधि रहेको एमाले वृत्तमा अनुमान छ । बाँकी प्रतिनिधिमा बाँस्कोटा र बस्नेतको उल्लेख्य प्रभाव छ । त्यस्तै, उपत्यकासहित महिला प्रतिनिधिमा शाक्यले निर्वाह गर्ने भूमिका पनि निर्णायक रहेको अनुमान छ ।

त्यस्तै, प्रदेशबाट स्थायी समिति र पोलिटब्युरोमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरू काशीनाथ अधिकारी, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र शेरबहादुर तामाङ पनि निर्णायक रूपमै छन् । तर, पूर्वइन्चार्ज अधिकारी भने नेतृत्वको निर्देशनबाहेक कतै खुल्ने स्वभाव नभएकाले तटस्थ भूमिकामै छन् । 

बाँस्कोटा र बस्नेतले अहिलेसम्म सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । तर, निकटस्थहरूलाई बाँस्कोटाले दाहाल र बस्नेतले ढुंगेललाई सहयोग गर्ने गरी प्रतिनिधिमाझ लबिङ गर्न भनेका छन् । जसले गर्दा बागमतीमा उपाध्यक्ष पाण्डेसहितको अप्रत्यक्ष भूमिकामा बाँस्कोटा र बस्नेतबीच पार्टीभित्र वर्चस्वका लागि प्रतिस्पर्धा भइरहेको एमाले वृत्तमा चर्चा छ ।‘कि त दुवैजनालाई स्थायी समितिमा लगेर आकांक्षी कम्तीमा दुईजना उम्मेदवारलाई पोलिटब्युरो सदस्य बनाउन पार्टी अध्यक्ष तयार हुनुपर्छ नत्र सहमतिको सम्भावना एकदमै क्षीण हुँदै गएको छ,’ बागमती प्रदेशका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । 

को–को छन् पदाधिकारीमा आकांक्षी ?
अध्यक्ष –     केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल 
उपाध्यक्ष – ईश्वरचन्द्र पोखरेल, कुमार खकुरेल, रामहरि सुवेदी, भूमि त्रिपाठी, मधुसूदन पौडेल, दावदोर्जे लामा, नारायण खतिवडा, महेश बर्तौला, नवराज सिलवाल, विजय सुवेदी
सचिव –     कृष्णभक्त पोखरेल, सुभाष कर्माचार्य र हस्त पण्डित 
उपसचिव –     डबल पाण्डे, खड्ग खत्री, कञ्चन अधिकारी, भाष्कर प्रधानांग, उपेन्द्र पौडेल, रत्न गुरुङ, रमेश आचार्य, कालिका पाठक, राधिका सापकोटा, भक्तकुमारी लामा, अशोक चौलागाईं, गीता बञ्जारा