१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस चितवन
Invalid date format १५:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सौराहामा घटे पर्यटक

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
Invalid date format १५:१८:oo

सौराहाका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो। अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो। विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायी यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्।

पर्यटकीय गन्तव्य सौराहासम्म आइपुग्ने सडकमार्ग सहज नहुनु तथा हवाई भाडा महँगाे भएकाले पर्यटकको संख्यामा यस वर्ष कमी आएको व्यवसायीको भनाइ छ। लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबिसे र नारायणगढ–बुटवल सडकखण्डमा मर्मत तथा विस्तारले यातायात असहज बनेको छ। पोखराबाट आउनेका लागि मुग्लिन–पोखराखण्ड पनि विस्तारले अवरुद्ध भइरहेको छ।

क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार सौराहाका होटेलमा यतिवेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ। जब कि विगतका वर्षमा यतिवेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो। सडकको दयनीय अवस्था, महँगाे हवाई भाडालगायतले पर्यटकको संख्या कम भएको उनको बुझाइ छ।

उनका अनुसार एउटा विदेशी पर्यटक काठमाडौंबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जिप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वाभाविक रूपमा बढ्छ । विदेशका लागि निकुञ्ज प्रवेशमा रु. दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जिप सफारीका लागि  रु. दुई हजार खर्च लाग्छ । 

संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि संघले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताए। विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रूपमा गर्न लागिएको उनको भनाइ छ।

संघका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउँछन्। विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भए पनि यस वर्ष अझै पर्यटक नआएको उनले उल्लेख गरे।

युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै भएको छैन। उनको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’समेत पाउन नसकेको अवस्था छ। ‘दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ,’ उनले भने।

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुला गरिनेछ। बाटो र पुलहरू धेरै बिग्रिएका ठाउँबाहेक अन्यत्र खुला गर्न लागिएको उनको भनाइ छ।