पहिलोपटक सहभागी भएको पाकिस्तानका साथै भारत र भुटान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्दा माल्दिभ्सलाई हराउनैपर्ने दबाबमा नेपाल
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपमा पाकिस्तान, भारत र भुटान सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलोपटक सहभागी भएको पाकिस्तान समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गरेको हो । भुटान र भारत समूह ‘बी’बाट एक खेलअघि नै अन्तिम चारको यात्रा तय गरेका छन् ।
शनिबार पाकिस्तानले माल्दिभ्सलाई १–१ को बराबरीमा रोक्दै पहिलो सहभागिता सानदार बनाएको हो । यो जितसँगै पाकिस्तानले दुई खेलमा चार अंक जोडेको छ । बराबरीसँगै प्रतियोगितामा एक खेलबाट माल्दिभ्सले १ अंक जोडेको छ । अब नेपाल र माल्दिभ्समध्ये एक टोली अन्तिम चारमा प्रवेश गर्नेछ ।
नेपाललाई सेमिफाइनल प्रवेशका लागि माल्दिभ्सलाई हराउनैपर्ने दबाब छ । माल्दिभ्स भने बराबरीले पनि अन्तिम चारमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । दशरथ रंगशालामा ३९औँ मिनेटमा कप्तान सनान रासिदको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । ८४औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए ।
भुटानको रोमाञ्चक जित
बगंंलादेशविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्दै भुटान एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । जितसँगै समूह ‘बी’को भुटानले तीन अंक जोडेको छ । लगातार दोस्रो हारपछि दुईपटकको उपविजेता बगंलादेश समूह चरणबाट माथि बढ्न सकेन । बंगलादेशको हारसँगै भारत पनि एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो ।
खेलको तेस्रो मिनेटमै रुबेल शेखले गोल गर्दै बगंलादेशलाई अग्रता दिलाएका थिए । ३०औँ मिनेटमा अस्दुल मोल्लाले बगंलादेशको अग्रता दोब्बर बनाए । तीन मिनेटपछि नै भुटानका जिग्मे नामगेलले खेललाई २–१ को स्थितिमा ल्याएका थिए । पहिलो हाफको इन्जुरी समयमा किन्जाङ तेन्जिनले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ५५औँ मिनेटमा राजु जिसानले गोल गर्दा बगंलादेश ३–२ ले अगाडि बढ्यो । ६७औँ मिनेटमा नामगेलले व्यक्तिगत दोस्रो गोल गरे । ८३औँ मिनेटमा रिनजिन दोर्जीले गोल गर्दै भुटानलाई ४–३ को रोमाञ्चक जित दिलाएका हुन् ।